पल शाह प्रहरी समक्ष उपस्थित हुने
नाबालिग किशोरीमाथि करणी गरेको आरोप लागेका अभिनेता पल शाह आफैं प्रहरीकहाँ जाने भएका छन् । उनले सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै यो जानकारी दिएका छन् । गत बुधबार शाहविरुद्ध तनहुँ जिल्ला प्रहरी कार्यालयमा किटानी उजुरी परेको थियो ।
त्यसपछि प्रहरीले उनलाई खोज्दै आएको छ । तर, उनी अहिलेसम्म फरार छन् । सामाजिक सन्जाल फेसबुकमा आफ्नो स्वास्थ्य बिग्रिएको र घरेलु व्यवहार मिलाउन परेकाले आफू केही दिन हराएको उनले बताएका छन् । उनले शुक्रबारदेखि नेपालभर प्रदर्शनमा आएको उनको फिल्म म यस्तो गीत गाउँछु २ लाई असर नपरोस् भनेर आफू नै प्रहरीसामु उपस्थित हुने निर्णयमा पुगेको बताएका छन् ।
उनी आजै प्रहरीकहाँ आत्मसमर्पण गर्न जाने पनि बताएका छन् । यसअघि उनी बिहीबार नै आत्मसमर्पण गर्ने कुरा उनीनिकटले बताएका थिए । तर, स्वास्थ्यमा समस्या आएपछि उनी प्रहरीकहाँ पुग्न सकेका थिएनन् ।