गेटा मेडिकल कलेजमा तीन सय शय्याको अस्पताल चलाउने तयारी, सरकारले गठन गर्यो समिति
अत्तरिया : कैलालीको गेटा मेडिकल कलेजमा तीन सय शय्याको अस्पताल चलाउने तयारी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल सञ्चालन स्वीकृति दिने तयारीअनुरूप स्वास्थ्य सचिव डा. रोशन पोखरेलको संयोजकत्वमा एक समिति गठन गरेको छ । समितिले चाँडै रिपोर्ट बुझाउने भएको छ । समितिको पहिलो बैठक शुक्रबार बस्यो ।
आर्थिक वर्ष ०७५्७६ देखि नै गेटा मेडिकल कलेजमा एमबिबिएस कार्यक्रम सुरु गर्ने लक्ष्य राखिए पनि भवन निर्माण पूरा नहुँदा र स्वायत्त प्रतिष्ठानसम्बन्धी ऐन नबन्दा अस्पताल सञ्चालन अनिश्चित बनिरहेको छ । स्वास्थ्य मन्त्रालयले स्वायत्त प्रतिष्ठानसम्बन्धी छाता ऐन पनि अगाडि बढाएको छ । मन्त्रालयका अनुसार मेडिकल कलेज सञ्चालन गर्ने हिसाबले अस्पताल सञ्चालन अनुमति दिन लागेको हो । मेडिकल कलेज सञ्चालन गर्न कम्तीमा तीन सय शय्या आवश्यक पर्ने भएकाले सरकारले अनुमति दिने तयारी गरेको हो ।
‘समितिको एउटा बैठक मात्रै बसेको छ । केही दिनभित्र हामीले तीन सय शय्याको अस्पताल सञ्चालन गर्न आवश्यक जनशक्ति, उपकरण खर्च सबै समेटेर प्रतिवेदन अर्थ मन्त्रालय पठाउनेछौँ,’ समिति संयोजक डा।पोखरेलले भने, ‘जनताको हितका विषयमा स्वास्थ्य मन्त्रालयले अब ढिलो गर्दैन । अर्थ मन्त्रालयले बजेट विनियोजन गरेलगत्तै ११ तहको मेडिकल सुपरिटेन्डेन्ट पठाउनेछौँ ।’ सरकारले मेडिकल युनिभर्सिटीको अवधारणाअन्तर्गत सुदूरपश्चिमको धनगढीमा गेटा मेडिकल कलेज स्थापना गरेको हो । गेटामा मेडिकल कलेज स्थापना भए चिकित्सा तथा जनस्वास्थ्य विज्ञान विषयमा स्नातकको अध्यापन हुने त छँदै छ, सुदूरपश्चिमवासीले आफ्नै ठाउँमा विशिष्टीकृत स्तरको स्वास्थ्य सेवा पनि पाउँछन् ।
गेटा मेडिकल कलेजका लागि शिक्षा मन्त्रालयको लगानीमा करिब ३० वटा भवन बनेका छन् । भवन निर्माणका लागि सात अर्ब लाग्ने अनुमान छ । तीन सय शय्याको अस्पताल सञ्चालन गर्न ३० वटा आकस्मिक बेड छुट्याउनुपर्छ । शल्यक्रिया कक्ष सञ्चालन गर्न प्रति २५ शय्या क्षमताबराबर एउटा मेजर अपरेसन थिएटर र एउटा माइनर अपरेसन थिएटर आवश्यक पर्छ ।