नवजीवन सहकारीः ६ हजार मतगणना, बमको अग्रता कायमै
धनगढी : कैलालीको धनगढीमा प्रधान कार्यालय रहेको नवजीवन सहकारी संस्थाको २८औं साधारण सभाअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतगणना जारी छ। मतगणनाअनुसार अध्यक्षका उम्मेदवार देवबहादुर बमले अग्रता बढाउदै लगेका छन्।
६ हजार मतगणना हुँदा बमले ३ हजार ५९ मत पाएका छन्। अध्यक्षका अर्का उम्मेदवार रतनबहादुर कठायतले २ हजार ३७६ मत पाएका छन्। सहकारीको नयाँ नेतृत्व चयनका लागि दुईवटा प्यानल चुनावी मैदानमा उत्रिएपछि शनिबार मतदान भएको थियो।
निर्वाचन समितिका अनुसार नवजीवन सहकारी संस्थामा २९ हजार ५ सय ७७ शेयर सदस्य रहेकोमा १७ हजार ८० मत खसेको थियो। सहकारीको नेतृत्वको लागि कठायत र बमको नेतृत्वमा दुई प्यान चुनावी मैदानमा उत्रिएका थिए।कठायतको प्यानलबाट चेतराज ओझा उपाध्यक्ष पदमा र उत्तमराज जोशी, रोम स्वाँर, केशवराज मिश्र, गणेश बम, गोपाल चौधरी, कृष्णबहादुर चौधरी, जयराज जोशी, पूर्ण जोशी, उपेन्द्र बिष्ट, भीमबहादुर बलायर र राधिकाकुमारी चौधरी सदस्य पदमा उम्मेदवार छन्।
उनको प्यानलबाट लेखा समिति संयोजक पदमा चेतराज जोशी र सदस्य पदमा लक्ष्मीराज पन्त र सीता विक उम्मेदवार छन्। बमका प्यानलबाट भरतराज जोशी उपाध्यक्ष पदमा र सदस्य पदमा इन्दिरा जैशी, गोपालराज पाठक, गोमाकुमारी अधिकारी, घनबहादुर शाह, पदमराज सापकोटा, प्रकाश जोशी, महेशराज बिष्ट, माधव चौधरी, रवि कुँवर, विश्वनाथ ओझा, र शिवकुमार जोशी फुलारा उम्मेदवार छन्। उनको प्यानलबाट लेखा समिति संयोजक पदमा मदराज ओझा तथा सदस्य पदमा गणेशप्रसाद उपाध्याय र सरस्वती वली उम्मेदवार छन्। नवजीवन सहकारी २०५० सालमा स्थापना भएको थियो।