Agni Offset Press

सामाजिक सुरक्षा रकम बुझ्न अझै सहज नभएको ज्येष्ठ नागरिकको गुनासो

Aarati simant

धनगढी : सामाजिक सुरक्षा रकम पाउन अझै सहज हुन नसकेको जेष्ठ नागरिकहरुले गुनासो गरेका छन् । सरकारले सहजताका लागि बैंकबाट रकम बुझ्ने व्यवस्था गरे पनि सहज बन्न नसकेको उनीहरुको गुनासो छ ।

आइतबार धनगढीमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा उनीहरुले यस्तो गुनासो गरेका हुन् । ‘सरकारले बैंकमा स्वयं व्यक्तिको उपस्थितिमा सामाजिक सुरक्षा भत्ता रकम दिने व्यवस्था गरेको छ’, धनगढीका ज्येष्ठ सदस्य कुलबहादुर हमालले भने, ‘तर, बैंकमा पुग्दा सहजै पाउने अवस्था हुँदैन । लामो समय लाइन लाग्नुपर्ने हुन्छ । त्यसले गर्दा समस्या हुन्छ ।’ ७० वर्षमाथिका मानिस शारीरिक रुपमा त्यसै पनि अशक्त भइसकेको हुँदा लाइन लाग्नुपर्ने समस्या हुने गरेको उनले गुनासो गरे । उनले सरकारले दिने ‘क’ र ‘ख’ वर्गको अपांगता परिचय पत्रमा पनि विभेद हुने गरेको बताए ।

यस्तै, अर्को ज्येष्ठ नागरिक धर्मानन्द अवस्थीले बैंकमा ज्येष्ठ नागरिकलाई छुट्टै काउन्टर नहुँदा समस्या हुने गरेको बताए । यस्तै, शारीरिक रुपमा अशक्त नन्दराज भट्टले तराईमा अपांगता भएको व्यक्तिका लागि सहज भए पनि पहाडमा समस्या हुने गरेको बताए ।

कार्यक्रममा अर्का शारीरिक रुपमा अशक्त भएका मानबहादुर बस्नेतले सरकारले दिने सामाजिक सुरक्षा भत्ताले जीवन निर्वाहमा अपुग हुने गरेको गुनासो गरे । ‘सरकारले दिने अपांग भत्ताले मात्र जीवन चल्दैन’, उनले भने, ‘शारीरिक रुपमा अपांग भएका व्यक्तिलाई आयआर्जनका कार्यक्रम दिन आवश्यक छ ।’

कार्यक्रममा धनगढीका विभिन्न वडासचिवले पनि आफ्नो समस्या व्यक्त गरेका थिए । धनगढी उपमहानगरपालिका वडा नम्बर १३ का वडा सचिव धर्मानन्द पाण्डेले सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिले हस्ताक्षरविना भत्ता नबुझ्ने गरी कानुनी व्यवस्था हुनुपर्ने बताए ।

कार्यक्रममा लक्ष्मी विकास बैंक धनगढी शाखाका प्रमुख दिवाकर जोशीले सामाजिक सुरक्षा रकम वितरणमा आफूहरुले व्यवस्थित गरिरहेको दाबी गरे । कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले प्रमाण पुगेमा कोही पनि व्यक्ति नागरिकताबाट वञ्चित नहुने बताए ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तीर्थराज भट्टराईले सामाजिक सुरक्षाभत्ता दुरुपयोग हुने गरेको गुनासो आएपछि बैंकबाट मात्र भुक्तानीको व्यवस्था मिलाएको बताए । उनले सामाजिक सुरक्षा भत्ता बुझ्दा भएका समस्या निराकरण गर्नका लागि स्थानीय सरकार बैंकको सहकार्य अगाडि बढ्न उनले सुझाए ।

पञ्जीकरण विभागको आयोजना र धनगढी उपमहानगरपालिकाको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, वडा सचिव, जनप्रतिनिधि, प्रहरी र पत्रकारको उल्लेख्य सहभागिता रहेको थियो । भने सो कार्यक्रम रेडियो धनगढी र धनगढी खबरबाट प्रत्यक्ष प्रशारण समेत गरिएको थियो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.