कोरियन भाषा परीक्षाको आवेदन चैत १४ देखि खुल्ने, यसपटक ९ हजार ६ सय ५४ जना श्रमिक लैजाने

काठमाण्डौँ : कोरियन भाषा परीक्षा (ईपिएस) को लागि आगामी चैत १४ देखि २१ गतेसम्म आवेदन दर्ता हुने भएको छ। ईपिएस कोरिया शाखाका अनुसार कोरियामा गई काम गर्न इच्छुक नेपालीका लागि भाषा परीक्षाको आवेदन खुल्न लागेको हो।
कृषि तथा पशुपालन र उत्पादनमा छुट्टाछुट्टै परीक्षा हुने तालिका सार्वजनिक भएको छ। जसअनुसार २०७९ वैशाख २६ देखि जेठ १३ गतेसम्म कृषि तथा पशुपालन क्षेत्रको पहिलो चरणको भाषा परीक्षा हुने भएको छ। यस्तै जेठ २४ देखि असार १६ सम्म दोस्रो चरणको भाषा परीक्षा हुनेछ।

यसैगरी उत्पादन क्षेत्रको पहिलो चरणमा असार २० देखि भदौ १० सम्म र दोस्रो चरणमा भदौ १६ देखि असोज २० सम्म भाषा परीक्षा हुने ईपिएस कार्यालयले जनाएको छ। यस्तै सिप परीक्षणका लागि कृषि तथा पशुपालन क्षेत्रका लागि पहिलो चरणमा वैशाख २६ देखि जेठ १३ तथा दोस्रो चरणमा जेठ २४ देखि असार १६ सम्म मिति तोकिएको छ।

यस्तै उत्पादन क्षेत्रको सिप परीक्षणका लागि पहिलो चरणमा असार २० देखि भदौ १० सम्म र दोस्रो चरणमा भदौ १६ देखि असोज २० सम्म मिति तोकिएको छ। उत्पादन मुलक क्षेत्रमा पढाई र सुनाई गरी १०० पूर्णाङ्कको परीक्षा हुनेछ। जसमा पास हुनका लागि कम्तिमा ५५ अंक ल्याउनुपर्नेछ। यस्तै कृषि तथा पशुपालन क्षेत्रमा कुल ९० पूर्णाङ्कको परीक्षा हुनेछ जसमा पास हुनका लागि ३६ ल्याउनुपर्नेछ।

परीक्षा शुल्क २४ डलर तोकिएको छ। परीक्षा केन्द्र भने पछि सार्वजनिक गरिने बताइएको छ। काठमाडौंबाट मात्र परीक्षा हुनेछ।
आवेदन दर्ता गर्नका लागि अनलाइन फारम भर्नुपर्नेछ।

फारम भर्नका लागि राहदानीको फोटो भएको पेजको रंगीन स्कयान गरी जेपिजी इमेज फाइल बनाइ अपलोड गर्नुपर्नेछ। आवेदनमा अनिवार्य रुपमा इमेल ठेगाना र मोबाइल नम्वर उल्लेख गर्नुपर्नेछ। फारममा तीन महिनायताको फोटो अपलोड गर्नुपर्नेछ। १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। आवेदन दिनेहरु फौजदारी अभियोगमा नपरेको, गैह्र कानूनी रुपमा कोरिया बसी फिर्ता पठाएको हुन नहुने, सरकारले अन्य मुलुकमा जान रोक नलगाएको हुनुपर्ने छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.