सुरु भयो रुपाली होलीको रौनक
अत्तरिया : पचासौँ वर्षदेखि एउटा गाउँका नागरिकले परम्परागत शैलीमा मनाइने होलीलाई अझै निरन्तर बनाएको छन् भन्दा आश्चर्य लाग्न सक्छ, तर त्यो यथार्थ र होलीको गर्विलो इतिहास डडेल्धुराको रुपालीले कायम राखेका छन् । वसन्त ऋतु र नयाँ वर्षको पूर्वसन्ध्यामा रङ्गीन पर्व होलीमा रुपाली समुदायका नागरिकले एक विशिष्ट र सांस्कृतिक रुपमा धुमधामका साथ महेन्द्रनगरमा आजदेखि सुरु गरेका छन् ।
विसं २०१८ देखि हालसम्म कञ्चनपुर र कैलालीलगायत मुलुकका विभिन्न ठाउँमा बसाइ सरेका डडल््धुराको भागेश्वर गाउँपालिका–२ रुपालका स्थानीयवासी बसाइसँगै त्यहाँको परम्परागत पर्वलाई पनि मनाउँदै आएको रुपाली समुदायका अगुवाको भनाइ छ । होटल व्यवसायी सङ्घ कञ्चनपुरका बरिष्ठ उपाध्यक्ष केशवसिंह जोराले आफूहरुले लामो समयदेखि रुपाली होली मनाउँदै आएको बताए ।
त्यसैगरी नेपाली कांग्रेसका पूर्व पार्टी सचिव ईश्वरी जोशीले डडेल्धुराको रुपालसंगै कञ्चनपुरको महेन्द्रनगरस्थित गोवरिया, जानकी टोल, तिलकपुरका साथै कैलालीमा समेत रुपाली समुदायमा होली सुरु भइसकेको बताउनुभयो । “यहाँ होलीमा सङ्कलन भएको रकमले वैजनाथ मन्दिरको विकासमा खर्च गर्ने गरेका छौँ”, जोशीले भने, “आजबाट घरघरमा पुगेर होली खेल्ने तयारी छ ।”
नले अनेक चाडपर्व र कला संस्कृतिको भीडमा रुपाली होलीको पनि महत्व रहेको बताए । दशकौँदेखि महेन्द्रनगरमा रुपाली होली समिति नै बनाएर हरेक वर्ष एकादशीदेखि पूर्णिमासम्म होली मनाउँदै आएका रुपाली समुदायका स्थानीयले होलीमा सहभागी सबैको घरमा पालोपालो गरी खेल्न पुग्छन् । फागू पूर्णिमामा मनाइने होली आध्यात्मिक, सांस्कृतिक, सामाजिक र मनोवैज्ञानिक महत्व बोकेको हुन्छ ।
देउडाजस्तै पाइला मिलाएर खेलिने रुपाली होलीमा भगवान श्रीकृष्ण र रामको महिमा तथा चरित्रको बारेमा गुणगान गाइँन्छ । यो होलीका बेला काम विशेषले घर बाहिर गएका पनि विदा वा समय मिलाएर घर आउने गर्छन् । सुदूरपश्चिम प्रदेशमा पनि समुदायपिच्छे होली खेल्ने र मनाउने धेरै तौर तरिकाहरु छन । आज यहाँको बैजनाथ मन्दिरमा पूजा तथा अर्चना गरी सुरु भएको रुपाली होली पूर्णिमाका दिन सोही मन्दिरमा पुगेर बिर्सजन हुने जोशीको भनाइ छ ।
उनले महेन्द्रनगर र आसपासका क्षेत्रमा मात्रै करिब २५० परिवार रुपाली समुदायको बसोबास रहेको बताए । रुपालीको घरमा होली खेल्दा ढोला, तवलाको धुनमा भगवान्का गीत गाएर घरपिच्छे अबिर लगाउँदै पर्व मनाउने गरिन्छ । बिहे र सन्तान भएको घरकाले फगुवालाई होलीका मौकामा विशेष भोजनसमेत गराउने चलन पनि छ”, जोराले भने “परम्परागत होलीलाई संरक्षण एवं सम्वद्र्धनका लागि जोड दिनुपर्छ ।”