प्राकृतिक सुन्दरताले भरिएको चाप सल्लीको नायल ताल
यसरी पुग्न सकिन्छ नायल तालमा
अत्तरिया : गोदावरी नगरपालिका वडा नम्बर १२ मा रहेको नायल ताल सुन्दरताले भरिएको छ । तालमा नीलो पानी, वरिपरि मिलेका पहाड र हरियो जंगल देखिन्छ । अंग्रेजी अक्षरको वाई जस्तो देखिने यो ताल प्राकृतिक सौन्दर्यले भरिपूर्ण कैलालीकै एक उत्कृष्ट पर्यटकीय स्थल बन्ने सम्भावना छ । वाई जस्तो भएको हुँदा एउटै तालमा ३ वटा जोडिएको स्थानीयहरुले बनाएका छन् । नायल ताल बाट तराईका फाँटहरुको दृष्य समेत देखिन्छन् ।
वरिपरि घना जंगल भएपनि तालमा एउटा पनि पात खसेको नभेटिने स्थानीयहरू बताउँछन् । चुरे पर्वतको अधिक उचाईमा रहेको ताल निकै मनमोहक छ । ‘ताल मनमोहक रहेको छ । यसको प्रचार–प्रचार गर्न सके मात्र तराईबाट सयौँ पर्यटक पुग्नेछन्’, गोदावरी नगरपालिका वडा नम्बर १२ की वडा सदस्य राधिकादेवी जोशीले भनिन् । ‘गर्मी छल्नका लागि अति राम्रो क्षेत्र बन्ने छ ।’ यसको विकासका लागि गुरु योजना आवश्यक रहेको उनले बताईन् ।
ताल चापसल्ली नजिकै पर्छ । सुदूरपश्चिमको कैलाली, डोटी र डडेल्धुराको संगमस्थलमा यो ताल पर्छ । तालसम्म पुग्न स्तरिय बाटो भएमा पर्यटकहरुको ओईरो नै लाग्ने त्यहाँ पुग्नेहरुको अनुभव रहेको छ । ‘तालको सुन्दरताको बयान गरेर साध्य छैन्’, गोदावरी–४ का स्थानीय रविन्द्र रोक्का मगरले भने । ‘सहजै पुग्न सक्ने बाटो मात्र निर्माण हुनुप¥यो ।’ महाभारतमा अवस्थित यस तालको अहिलेसम्म धेरैलाई थाह समेत हुन नसकेको स्थानीयहरुको भनाई रहेको छ ।
‘गोदावरी क्षेत्र भित्र यस्ता क्षेत्र रहेका छन्’, ओलानीका स्थानीय कविन्द्र खड्काले भने । ‘जहाँ पुग्दा हामी तराइर्का गर्मीलाई विर्सिन्छु । नायल पनि त्यस्तै मध्येमा एक हो ।’ उनले नगरपाकिलाले समेत तालको प्रचारप्रचार र विकासका लागि कुनै गुरुयोजना नबनाएको बताए । यसको प्रचार मात्र गर्न सकेमा धेरै टिकटक बनाउन समेत त्यहाँ पुग्ने उनले बताए । ‘धेरै व्यक्तिहर नयाँ ठाउँको खोजिमा हुन्छन् । नायल तालमा अहिलेसम्म धेरै कम मात्र पुगेका छन्’, उलने भने । ‘पछिल्लो समयमा सामाजिक सञ्जाल टिकटक मोह भएकाहरुका लागि यो उपयुक्त क्षेत्र बन्ने छ ।’
चाप सल्लीमा झण्डै ३ सय घरधुरीहरु रहेका छन । तालको धार्मिक महत्व पनि रहेको स्थानीयले बताएका छन । सोही तालबाट दोगटी, ननराई र मसानी देवता उब्जेका हुन भन्ने किम्बदन्ती छ ।
कसरी पुग्ने नायल तालमा ?
नायल तालसम्म गोदावरीको ओलानी हुँदै सडक पुगेको छ भने कञ्चनपुरको बाणी बंकदेखि पनि सडक पुगेको छ । ओलानी हुँदै गएमा ३ घण्टाको सडक यात्रा गर्नुपर्ने हुन्छ । अत्तरियाबाट नायल ताल ४७ किलोमिटर टाढा रहेको छ । यस्तै बाणी बंकको बाटो प्रयोग गरिएमा २ घण्टा मै पुग्न सकिन्ने स्थानीयहरुको भनाई रहेको छ ।