सुदूरपश्चिम स्पोर्टस अवार्डको तेस्रो संस्करण चैत २५ गते
धनगढी : ‘सुदूरपश्चिम स्पोर्टस अवार्ड’को तेस्रो संस्करण चैत २५ गते हुने भएको छ । आइतबार नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा पत्रकार सम्मेलन गर्दै अवार्डको तेस्रो संस्करणबारे जानकारी दिएको हो ।
अवार्डको तेस्रो संस्करणको तयारी सुरु भइरहेको खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाले बताए । उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइने अवार्डका संयोजक तथा खेलकुद पत्रकार मञ्च कैलालीका महासचिव प्रदीप पाठकले बताए । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने पाठकले बताए ।
उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने खेलकुद पत्रकार मञ्चका कोषाध्यक्ष हरि जोशीले बताए। यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ ।
‘सुदूरपश्चिम स्पोर्टस अवार्ड’को तेस्रो संस्करणमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् पनि जोडिएको छ। अवार्डको मुख्य प्रवद्र्धकको रुपमा खेलकुद परिषद् जोडिएको मञ्चका अध्यक्ष ओझाले बताए । आजै अध्यक्ष ओझा र प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहबीच सम्झौता भएको छ ।