Agni Offset Press

मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिता सुरु, सुदूरपश्चिम र आर्मीको विजयी सुरुवात

Aarati simant

धनगढी : ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा विभागिय टोली त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेका छन । कैलालीको धनगढीमा सोमबारदेखि सुरु भएको प्रतियोगिताअन्तर्गत उद्धघाटन खेलमा आर्मी र दोस्रो खेलमा घरेलु टोली सुदूरपश्चिम विजयी भएको हो ।
पहिलो खेलमा आर्मीले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटले हरायो। आर्मीले कर्णालीलाई २५–१८,२५–१० र २५–१६ को सेटमा हराएको हो। यस्तै सोमबार नै भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई २५–१७, २५–२२ र २५–२२ को सोझो सेटले पराजित गरेको छ ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा सुरु भएको प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्धघाटन गरेका थिए । भट्टले खेलकुदलाई चलायमान बनाउनका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । ‘कोभिड–१९ को संक्रमणका कारण खेलकुदका गतिविधि हुन सकेका थिएनन्,’ मुख्यमन्त्री भट्टले भने, ‘अहिले संक्रमण घटेपछि खेलका गतिविधि सुरुवात भएका छन्। भौतिक संरचना निर्माण पनि थालिएको छ।’
आयोजक प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहका अनुसार १२ गतेसम्म सञ्चालन हुने राष्ट्रिय भलिबल प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय गरी १० टोलीको सहभागिता रहेको छ। उनका अनुसार प्रतियोगिताको विजेताले नगद चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्ने टिमले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् .
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार तथा उदयमान खेलाडी, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट सर्वर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजारसहित पुरस्कृत गरिने सिंहले बताए। प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद एक हजार पाँच सय नगदसहित पुरस्कृत गरिनेछ। सदस्य सचिव सिंहले प्रतियोगिता सर्वाधिक पुरस्कार राशिको भएको दाबी गरेका छन्। प्रतियोगिताअन्तर्गत मंगलबार चार खेल हुनेछन् ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.