राष्ट्रिय भलिबल प्रतियोगिता : गण्डकी, बागमती र पुलिसको सुखद सुरुवात
धनगढी : कैलालीको धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा नेपाल पुलिस क्लब, गण्डकी र बागमती प्रदेशले सुखद सुरुवात गरेका छन् । प्रतियोगिताअन्तर्गत मंगलबार भएका खेलमा विजयी हुँदै तीन वटै टोलीले सुखद सुरुवात गरेका हुन् ।
मंगलबार भएको पहिलो खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले प्रदेश नम्बर १ लाई ३–० को सोझो सेटले पराजित ग¥यो । पुलिसले २५–१८, २५–१० र २५–१८ को सेटले प्रदेश नम्बर १ लाई पराजित गरेको हो। खेलका म्यान अफ द म्याच नेपाल पुलिस क्लबका रविन चन्द भए ।
मंगलबार भएको दोस्रो खेलमा गण्डकी प्रदेशले विभागिय टोली एपीएफलाई ३–१ को सेटले पराजित गरेको छ। गण्डकीले २५–२० र २५–१८ ले पहिलो र दोस्रो सेट जितेकोमा तेस्रो सेट १९–२५ ले गुमाएको थियो। तर २५–२३ ले चौथो सेट जित्दै गण्डकीले प्रतियोगितामा विजयी सुरुवात गरेको हो। खेलका म्याद अफ द म्याच गण्डकीका घनश्याम चौधरी भए ।
मंगलबार भएको तेस्रो तथा अन्तिम खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई ३–१ को सेटले पराजित गरेको छ । बागमतीले पहिलो सेट २५–१६ ले जितेकोमा दोस्रो सेट भने २३–२५ ले गुमाएको थियो । त्यसपछिका दुई सेट २५–२१ र २५–१६ ले बागमती प्रदेशले जितेको हो । खेलका म्यान अफ द म्याच बागमती प्रदेशका नविन महतो भए। बागमतीसंग पराजित भएसंगै मधेश प्रदेश भने प्रतियोगिताबाट बाहिरिएको छ ।
आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहका अनुसार १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा लुम्बिनीबाहेक ६ वटा प्रदेश र तीन वटा विभागीय गरी ९ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले नगद चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्ने टिमले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार तथा उदयमान खेलाडी, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट सर्वर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजारसहित पुरस्कृत गरिने सिंहले बताए। प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद एक हजार पाँच सय नगदसहित पुरस्कृत गरिनेछ। प्रतियोगिताअन्तर्गत बुधबार तीन खेल हुनेछन्।