ओली प्रधानमन्त्री हुँदा जनताको भावना बुझ्न सक्नुभएन : बडू
काठमाण्डौँ : कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री दिलेन्द्र प्रसाद बडुले नेकपा एमाले सरकार संविधानभन्दा बाहिर गएर संचालन गर्दा समय अगाडि नै बाहिरिनु परेको बताएका छन् । सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) को १६ औं वार्षिक साधारणसभा तथा सामुदायिक रेडियोहरूको राष्ट्रिय सम्मेलनलाई आज नेपालगन्जमा उद्घाटन गर्दै मन्त्री बडुले यस्तो बताएका हुन् । उनले पूर्वप्रधानमन्त्री ओली सरकार चलाउन असफल भएको दावी पनि गरे ।
देशको प्रधानमन्त्री हुँदा जनताको भावना बुझ्न नसकेको, देश र जनता भन्दा बाहिर गएर सरकार चलाउन खोजेकोले बाहिरिनु परेको मन्त्री दिलेन्द्रको भनाइ छ । उनले अहिलेको सरकार विशेष परिस्थितिमा विशेष दायित्वका साथ बनेको भन्दै खतरामा परेको संविधानको रक्षा गर्नु सरकारको मूल जिम्मेवारी भएको बताए ।
कार्यक्रममा बोल्दै मन्त्री बडुले संविधान रक्षा र संवैधानिक सर्वोच्चताको लागि रेडियो प्रशारणको लक्ष्य बन्नुपर्नेमा जोड दिए । रेडियो प्रशारणले सामाजिक रूपान्तरण र राजनीतिक स्थायित्वका पक्षमा निरन्तर पैरवी गरिरहनुपर्ने पनि उनले बताए ।