
हाम्रो दुःख कसले सुन्ने ? : द्वन्द्व पीडित

धनगढी : कञ्चनपुर कृष्णपुर नगरपालिका–३ की लक्ष्मी चौधरी छोरी वेपत्ता भएको १५ बर्ष भयो । १५ बर्ष हुँदा पनि उनले आफ्नो छोरीको अवस्थाका बारेमा कुनै पनि जानकारी पाएको छैन् । ‘हाम्रो बालबच्चा कहाँ फाल्यो ? छोरी प्रलौटी चौधरी वेपत्ता भएको १५ बर्ष भयो’, लक्ष्मीले भनिन् । ‘एडभोकेसी फोरमले बिहिबार धनगढीमा गरेको कार्यक्रममा उनले भनिन् । ‘नेताहरु रगतमा पौडी खेलिरहेका छन् । हामीलाई पीडा छ । तर, कसैले पनि सुन्दैनन् ।’ आफ्नो छोरीसंगका नानीहरु देख्दा सहि नसक्ने पीडा हुने गरेको उनले गुनासो पोखिन् । द्वन्द्वपीडित दिनराज भण्डारीले सरकारले अदालतको आदेश नै नमान्दा समस्या हुने गरेको बताए । ‘अदालतको आदेश नै कार्यान्वयन हुँदैन्’, उनले भने । ‘अनि कहाँ बाट पीडितले न्याय पाउँछ ।’
यस्तै कञ्चनपुर बेदकोट नगरपालिका वडा नम्बर ८ की हिरा भण्डारीले द्वन्द्वकालमा श्रीमान वेपत्ता पारिएको भनिए पनि अहिलेसम्म सत्यतथ्य फेला नपारेको गुनासो गरिन् । ‘न्याय दिन सरकारनै मौन छ । हामीले न लास पायौँ नत सास’, उनले भनिन् । ‘अव हुने निर्वाचनमा नेताहरुलाई वहिष्कार गर्नुपर्छ ।’
सहभागिहरुले आफुहरुले क्षतिपूर्ति समेत नपाएको गुनासो गरेका थिए । कञ्चनपुर वेलौरी नगरपालिका–१० बलिराम चौधरीले द्वन्द्वकालमा कुटपिटभएकाहरुले क्षतिपूर्ति नपाएको गुनासो गरे ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सुदूरपश्चिम संयोजक मोहनराज जोशीले घट्ना कसरी भएको भन्ने जान्न पाउने अधिकार नागरिकमा भएको बताए । ‘पीडितलाई न्याय दिने राज्यको ठूलो दायित्व हुन्छ’, उलने भने । ‘मानव अधिकारले द्वन्द्वकाल देखि नै पीडितका पक्षमा आवाज उठाउँदै आएको हो ।’
यस्तै कार्यक्रमा इन्सेक सुदूरपश्चिम संयोजक खड्कराज जोशीले घट्नाको सहि रुपमा छानविन नहुँदा पनि पीडितले न्याय पाउन ढिलाई भईरहेको बताए । उनले पीडितले सत्य कुरा पाउने अधिकार भएको बताए । गम्भिर मानव अधिकारका घट्नामा सत्यतथ्य सार्वजनिक गर्न राज्यको दायित्व पनि रहेको उनले जोड दिए । एडभोकेसी फोरमले १२ औँ अन्र्तराष्ट्रिय सत्यको अधिकार दिवसको अवसर पारी अन्र्तक्रिय कार्यक्रम गरेको हो ।
एडभोकेसी फोरम सुदूरपश्चिम निर्देशक विरबहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संयोजक पुष्पविक्रम शाहीले गरेका हुन् । कार्यक्रममा कैलाली र कञ्चनपुरका द्वन्द्वपीडित परिवारहरुको सहभागिता रहेको थियो ।
