
प्रतिष्ठानद्वारा छ जना स्रष्टा सम्मानित

धनगढी, १५ चैत : नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलालीले विभिन्न स्रष्टाहरुलाई सम्मानित गरेको छ । सो संस्थाले मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित पुरस्कार समर्पण कार्यक्रममा ६ जना स्रष्टाहरुलाई सम्मानित गरेको हो ।
महाकाव्यकार तथा वरिष्ठ साहित्यकार मनिराज जोशीद्वारा स्थापित एक लाख रुपैयाँ राशीको ‘मनिराज जोशी बाङमय पुरस्कार २०७५’ बाट पूर्व प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्द, सोही पुरस्कार २०७६ बाट वरिष्ठ साहित्यकार डा. तुलसी भट्टराई पुरस्कृत भए ।
उनीस्हरु दुवैलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डा. गंगाप्रसाद उप्रेतीले सम्मानपत्रसहित पुरस्कार हस्तान्तरण गरे । सोहीअनुसार गोदावरी प्रतिभा पुरस्कार २०७५ बाट पूर्वमन्त्री दीपकप्रकाश बास्कोटा, खप्तड स्वामी सत्चितानन्द सरस्वती पुरस्कार २०७५ बाट प्रा.डा. रामचन्द्र भट्ट, शास्त्री देवराज आचार्य पुरस्कार २०७५ बाट भरतराज पौडेल र खडगबहादुर प्रतिभा पुरस्कार २०७५ बाट साहित्यकार तथा पत्रकार लक्की चौधरी पुरस्कृत भए ।
पुरस्कृत हुने स्रष्टालाई पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द तथा प्रतिष्ठानका कुलपति डा. गंगाप्रसाद उप्रेतीले संयुक्तरुपमा पुरस्कृत गरे । चारवटै पुरस्कारको राशी जनही १० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । सो अवसरमा पूर्व प्रधानमन्त्री चन्दलाई ८४ औं वसन्त टेक्दै गरेकोे पूर्वसन्ध्यामा संस्थाले अभिनन्दित गरेको छ ।
सो अवसरमा पूर्व प्रधानमन्त्री चन्दले साहित्यले समाजको वर्तमान, भूत र भविष्यको चित्र देखाउने हुनाले साहित्यलाई समाजको दर्पण भनिएको चर्चा गरे । आत्मा नभएको शरीर जसरी मृततुल्य हुन्छ, समाजमा साहित्य, कला र संगीत नभएमा समाज पनि निरश र मृततुल्य हुने उनले बताए ।
साहित्यको उत्थान र श्रीवृद्धिमा मिडियाको भूमिका महत्वपूर्ण रहने उनले बताए ।नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डा। गंगाप्रसाद उप्रेतीले स्रष्टालाई सम्मान गर्नु भनेको लेखनमा थप उत्प्रेरित गर्नु हो भन्दै यसले लेखक तथा द्रष्टालाई थप जिम्मेवार बनाउने विश्वास व्यक्त गरे । साहित्यको श्रीवृद्धिमा गोदावरी कैलालीस्थित प्रतिष्ठानले पुर्याएको योगदानको उनले प्रसंशा गरे ।
प्रतिष्ठानका सल्लाहकार मनिराज जोशीले सुदूरपश्चिमबाट काठमाडौं आएर पुरस्कार वितरण गर्न केही कठिनाई भएपनि सबैको सहयोग र सदभावले सफलता मिलेको बताए । कार्यक्रम सफल बनाउन भूमिका खेल्नुहुने व्यक्तित्व, कार्यक्रममा सहभागी सबैलाई उनले धन्यवाद व्यक्त गरे ।
प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार पदमराज जोशीले आफूहरु कैलालीको गोदावरीमा रहेर नेपाली वाङ्मय साहित्यको श्रीवृद्धिका लागि प्रयासरत रहेको बताए । यसअघि गोदावरीमा धार्मिक कुम्भमेला आयोजना गरेर लाखौं भक्तजनलाई सहभागी गराएको उनले चर्चा गरे ।
कार्यक्रममा पूर्वमन्त्री तथा पुरस्कृत व्यक्तित्व दीपकप्रसाद बास्कोटा लगायतले धारणा राखेका थिए । सो अवसरमा साहित्यकार डा। तुलसीप्रसाद भट्टराईद्वारा लिखित ‘सुनेको चीन देखेपछि’ कृति लोकार्पित गरिएको छ ।
