अत्तरिया : पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि शुक्रबारदेखि कैलालीको अत्तरियामा अभिमुखीकरण सुरु भएको छ । नेपाल पत्रकार महासङ्घ, सुदूरपश्चिम प्रदेश समितिको आयोजना तथा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा भएको अभिमुखीकरणमा प्रदेशका नौ जिल्लाका समेत ३० जना बढीको सहभागिता रहेको छ ।
‘‘हामी हरेकले आफ्नो विचारमा स्पष्ट र काममा तटस्थ हुनु अनिवार्य भइसकेको छ,’ अभिमुखीकरण कार्यक्रमको उद्घाटनका क्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले भनिन् ‘सरकार सधैँ स्वतन्त्र पत्रकारिताको प्रवर्द्धनको पक्षमा छ, तर स्वच्छन्द पत्रकारितालाई कानुन बनाएर नियन्त्रण गर्न प्रतिबद्ध छ ।’
मन्त्री जोशीले सरकार प्रदेशमा मिडियाको विकासका लागि आमसञ्चार नीति ल्याउने तयारी गरिरहेको बताइन् । उद्घाटन कार्यक्रममा महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले शासक तथा समाजले जहिले पनि आफूअनुकूलको मिडियाको चाहना राख्ने गरेको चर्चा गरे । उनले भने, ‘हाम्रा अगाडि अब शासन वा समाज कसका प्रति उत्तरदायी बन्ने भन्ने छनोट गर्ने सवाल छ ।’
उनले पछिल्ला दिनहरूमा समाज तथा नागरिकले मिडियामाथि सवाल उठाइरहेको औँल्याए । भने, ‘अब हामीसँग समाजले हामीमाथि उठाएका प्रश्नचिह्नको आफ्नो कर्मबाट सम्बोधन गर्ने चुनौती छ । हामीले सामाजिक उत्तरदायित्वको सिद्धान्तमा आधारित पत्रकारिताको विकासका लागि उपयुक्त वातारण, अवसर र संरचना बनाउनु जरुरी छ ।’
कार्यक्रममा महासङ्घका केन्द्रीय सचिव हेमकर्ण विक, केन्द्रीय सदस्य भरत शाह, पूर्व उपसभापति चित्राङ्ग थापा, पूर्व केन्द्रीय सदस्य मनमोहन स्वार र दिलबहादुर छत्याल, निवर्तमान प्रदेश अध्यक्ष अर्जुन शाह, बानका उपमहासचिव गोविन्द रोस्यारा, प्रेस युनियनका जिल्ला अध्यक्ष श्रवण देउवालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
उद्घाटन कार्यक्रम महासङ्घका प्रदेश अध्यक्ष योगेश रावलको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रदेश उपाध्यक्ष योगेन्द्र बलायरले स्वागत गरेका थिए भने महासचिव रामसिंह ठगुन्नाले सञ्चालन गरेका थिए । अभिमुखीकरण कार्यक्रम भोलि ९शनिबार० सम्म चल्ने आयोजकले जनाएको छ ।