कञ्चनपुर : नेकपा (एमाले) का प्रदेश कमिटी सदस्य तथा बेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्दसहितका नेताहरु नेकपा (एकीकृत समाजवादी) मा समाहित हुने भएका छन् ।
आइतवार बेदकोटमा आयोजित एक कार्यक्रमकाबीच समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले चन्दसहितका नेता, कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गर्ने कार्यक्रम राखिएको छ ।
मेयर चन्दसहित बेदकोट नगरपालिकाका केही वडाध्यक्ष, वडा सदस्यलगायतका जनप्रतिनिधिले समाजवादीमा समाहित हुने तयारी भएको हो ।
गत पुस अन्तिम साता भएको जिल्ला अधिवेशनमा बीरबहादुर थापा (पातल) समूहबाट चन्द सचिवमा चुनाव लडेका थिए । उनी पल्लवराज भट्टसँग झिनो मतान्तरले पराजित भएका थिए भने अध्यक्षमा पातल सुरेन्द्र बिष्टसँग हारेका थिए ।
त्यसपछि अध्यक्ष बिष्ट र जिल्ला इन्चार्ज निरुदेबी पाललगायतले पातल समूहमा लागेका नेता, कार्यकर्ताहरुलाई पार्टीमा अवसर नदिएको र पेलेरै लैजाने रणनीति लिएको बुझाई चन्द पक्षको रहेको छ ।