गोदावरी न्यायिक समितिद्वारा वडा-वडामा अभिमुखिकरण
अत्तरिया : गोदावरी नगरपालिकामा रहेको न्यायिक समितिले न्यायिक अधिकारका बारेमा वडा वडामा अभिमुखिकरण कार्यक्रम सुरु गरेको छ । न्यायिक समितिले आईतबारवाट कार्यक्रम सुरु गरेको हो ।
सोही क्रममा अन्र्तगत सोमबार वडा नं २ मा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । न्यायिक समितिका संयोजक एबम उप प्रमुख रत्ना कडायतको उपस्थितीमा भएको उक्त कार्यक्रममा वडामा रहेको मेलामिलापकर्ताहरुले गरिरहेको काम, कारबाहीका बिषयमा छलफल गर्नुका साथ उनीहरुलाई न्याय सम्पादन गर्दा ध्यान दिनुपर्ने बिषय वस्तुका बारेमा जानकारी गराईएको थियो ।
१२ वटा वडा रहेको यस नगरपालिकाको प्रत्येक वडामा एक जना संयोजक रहने गरि ५ सदस्यीय मेलमिलापकर्ताको समिति रहेको छ । सुचिकृत मेलमिलापकर्ताहरुका पदाधिकारीहरुले आफुले सम्पादन गरेको काम र त्यो संग सम्बन्धित कागजातहरु नगरपालिकाको न्यायिक समितीमा पठाउने गरेको भएपनि पुरै कागजातहरु नसमेटिएको पाईएपछि सो बारे जानकारी गराइएको छ ।
यस्तै कार्यसम्पादनमा गर्नुपर्ने अन्य कार्यका बारेमा पनि समितिका सबै सदस्यहरुसंग छलफल गरी जानकारी गराईएको न्यायिक समितिले जनाएको छ । सो अभिमुखिकरण कार्यक्रम १२ वटै वडामा संचालन हुनेछ ।