अत्तरिया : चुरे गाउँपालिकामा चुनावी माहोल बढ्न थालेको छ । सरकारले आगामी वैशाख ३० गतेका लागि घोषणा गरेको स्थानीय तह निर्वाचन नजिकिएसँगै चुनावी माहोल बढेको हो । विभिन्न दलले उम्मेदवार तय गर्न छलफल थालिसकेका छन् भने आकांक्षीहरु पनि लविङमा जुटेका छन् ।
नेकपा एमालेबाट भने यसपटक गाउँपालिकाको अध्यक्ष पदमा दर्जन नेताले इच्छा राखे पनि मुख्य पाँच जना आकांक्षी देखिएका छन् । गत निर्वाचनमा माओवादी केन्द्रबाट अध्यक्षमा पराजित किसन सिं साउँद( विशाल) पनि पार्टी एकतासंगै नेकपा विभाजनपछि एमालेमै छन् । नेकपा एमालेका प्रदेश इन्र्चाज लेखराज भट्टसंगै उनी पनि एमालेमै बसेका हुन् । उनी अहिले गाउँपालिकाको अध्यक्षका लागि लविङमा छन् ।
त्यस्तै, अध्यक्षमा वर्तमान गाउँपालिका अध्यक्ष धनबहादुर रोकमगर, वडा नम्बर ३ का वडा अध्यक्ष टेकबहादुर शाह, एमाले चुरेका अध्यक्ष चक्र बोगटी र एमाले चुरेका नेता दानु महराको नाम पनि चर्चामा छ ।
०७४ को निर्वाचनमा पराजित साउँदा आफू घाइते भएकाले र चुरे क्षेत्र माओवादीबाट एमालेमा आएकाहरुलाई परेको भन्दै टिकट पाउनेमा ढुक्क छन् । उहनी एमाले सुदूरपश्चिम इन्र्चाज लेखराज भट्ट र अध्यक्ष दामोदर भण्डारी निकटको मानिएका छन ।
त्यस्तै, वर्तमान गाउँपालिका अध्यक्ष रोकामगर आफू एक कार्यकाल अध्यक्ष भएर चलाएको अनुभव रहेकाले र पाँच वर्षे कार्यकालमा रहेका अधुरा काम पुरा गर्नका लागि भएपनि पार्टीले आफूलाई नै टिकट दिने भन्दै प्रचारप्रसारमा छन् ।
यता, अर्का आकांक्षी टेकबहादुर शाह भने चुरे गाउँपालिकामा आफू लोकप्रिय जनप्रतिनिधि भएकाले र वडा अध्यक्ष भएर चलाएको पाँच वर्षे कार्यकालको अनुभव रहेकाले पनि पार्टीले जनचाहना अनुसार टिकट दिनेमा ढुक्क भएको बताउन्छन् ।
अर्का अध्यक्षका आकांक्षी एमाले चुरेका अध्यक्ष चक्र बोगटी पनि आफू संगठन विस्तारमा लागेको र पार्टीमा पनि सिनियर नेता भएकाले टिकट पाउनेमा ढुक्क भएको बताउछन् ।
सम्बन्धित पाेस्टहरु