Agni Offset Press

कञ्चनपुरमा गठबन्धनको भागबन्डा यस्तो

Aarati simant

कञ्चनपुर : कञ्चनपुरमा स्थानीय तह चुनावको मिति नजिकिएसँगै गठबन्धन दलहरुकाबीचमा आपसी तालमेलबारे छलफल तीब्र पारिएको छ । कञ्चनपुर कांग्रेसका तीनवटा नगर कार्यसमितिले गठबन्धन नगरी एकल हिसाबले चुनाव लड्ने निर्णय गरेपनि माथिल्लो स्तरका नेताहरु भने मिलेर जानेमा दृढ छन् ।
‘कञ्चनपुरको सन्दर्भमा कुन पालिका कसले लिने भन्ने तहसम्मको छलफल भइसकेको छ,’ कांग्रेसका एक नेताले भने, ‘तल्ला कमिटीले दबाब सृजना गर्न खोजेपनि त्यसको खासै केही अर्थ छैन् ।’
सत्ता गठबन्धनमा सामेल कञ्चनपुरमा मूख्य तीन दल कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) मिलेर चुनाव लड्नेमा लगभग सहमत भएको र त्यसबारे जिल्लामा मात्र नभएर केन्द्रीय स्तरका नेताहरुका बीच काठमाडौंमा पनि एक चरण छलफल भइसकेको ती नेताले बताए ।
‘कसले कुन पालिका लिने भन्नेसम्मको होमवर्क भइसकेको छ,’ ती नेताले भने, ‘स्थानीय तह चुनावको प्रभाव प्रदेश र संघीय चुनावमा पर्ने भएकाले कञ्चनपुरतर्फ नेताहरुको बढी नै चिन्ता र चासो छ ।’ कञ्चनपुर कांग्रेस नेता एनपी साउद र रमेश लेखकको गृह क्षेत्र हो ।
जिल्लास्तरमा पनि गठबन्धन दलका नेताहरु तालमेलका लागि आन्तरिक तयारीमा छन् । तीनै दलका शीर्ष नेताहरु कञ्चनपुरका सबै पालिकामा गठबन्धन गर्ने आपसी समझदारी गरेपनि संस्थागत निर्णय भने गर्न बाँकी छ ।
कञ्चनपुरका ९ पालिकामध्ये कांग्रेसले ४ पालिका, माओवादीले ३ पालिका र एकीकृत समाजवादीले २ पालिका पाउँने गरी छलफल भइरहेको गठबन्धनका एक नेताले बताए । उनका अनुसार कांग्रेसले भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा नगरपालिका र बेलडाँडी गाउँपालिका पाउने गरी छलफल भएको छ ।
यसैगरी माओवादी केन्द्रले बेलौरी नगरपालिका, कृष्णपुर नगरपालिका र लालझाँडी गाउँपालिका पाउने गरी छलफल चलिरहेको छ । एकीकृत समाजवादीले बेदकोट र पुनर्वास नगरपालिका पाउने गरी छलफल भइरहेको छ । ‘गठबन्धनमा रहेका केन्द्रीय नेताहरुले यस्तो सरसल्लाह गरिरहेका छन्,’ ती नेताले भने, ‘यसमा कतै तलबितल होला, धेरै फेरबदल हुने म देख्दिन ।’
गठबन्धनका नेताहरुले स्थानीय चुनावका लागि उम्मेदवारको अनुहार पनि झण्डै कोरिसकेका छन् । ‘आकांक्षी मध्ये कसलाई उम्मेदवार बनाउने भन्नेमा उनीहरुले एउटा चित्र कोरिसकेपनि अहिले नै सार्वजनिक गर्दा विवाद हुने भएकाले नगरिएको हो, त्यसमा पनि तल्ला कमिटीहरुलाई अधिकार दिएपछि त्यतैबाट मिलाएर ल्याए हुन्थ्यो भन्ने उहाँहरुको भाव छ,’ उनले भने, ‘तलबाट छनौट गर्दा त्यहीँ अनुहार आउने हुन् ।’
गठबन्धनका नेताहरुले वडासम्मै तालमेल गर्ने गरी छलफल अघि बढाइसकेका छन् । केही दिनमै संयुक्त रुपमा गठबन्धन गर्ने गरी निर्णय हुने ती नेताले बताए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.