Agni Offset Press

स्थानीय निर्वाचन २०७९ : कृष्णपुर नगरमा कुन दल बलियो ?

Aarati simant

अत्तरिया : स्थानीय चुनावका लागि उम्मेदवारहरु घर दैलो सकेर मत हाल्ने तरिका सिकाई रहेका छन् । कञ्चनपुरको मेयर र उपमेयर एमालेले जितेको कृष्णपुर नगरपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन कार्यान्वयन हुन सकेन् । त्यहाँ नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी र एकीकृत समाजवादी एक्लाएक्लै चुनावी मैदानमा उत्रिएका छन् ।
कृष्णपुर नगरपालिकाको मेयरमा एमालेका कर्णबहादुर हमाल ६ हजार ७०६ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका हेमराज ओझा ५ हजार ७६०, माओवादीका जोगराज चौधरीले ५ हजार ७५४ मत ल्याएका थिए ।
सत्तासाझेदार दल माओवादी र एकीकृत समाजवादी पार्टीको गठबन्धनमा भएको भागबन्डामा सहमति कार्यान्वयन हुन सकेन । नेकपा माओवादी केन्द्र कृष्णपुर नगर कमिटी सचिव जगदीश मल्लका अनुसार माओवादी र समाजवादीले नगरको प्रमुख उपप्रमुख पदमा छुट्टा छुट्टै उम्मेदवारी दिएर प्रचारप्रसारमा सक्रिय छन् ।
कृष्णपुरमा नेकपा माओवादी केन्द्रका तर्फबाट मेयरमा यसअघि हारेका जोगराज चौधरी र उपमेयरमा गीता मल्ल चुनावी मैदानमा छन् । समाजवादीबाट मेयरका उम्मेदवार सुरेन्द्र बम र उपमेयरमा मञ्जु नेपाली छन् ।
सत्तागठबन्धनबाट बाहिरिएर एक्लै चुनावी मैदानमा उत्रिएको कांग्रेसबाट मेयरमा अघिल्लो पल्ट हारेका हेमराज ओझा र उपमेयरमा द्रोपती रानालाई अगाडि सारिएको छ । नेकपा एमालेले मेयरमा लोकेन्द्र प्रसाद पन्त र उपमेयरमा ०७४ सालमा विजयी रमिता रानालाई उम्मेदवार उठाएको छ ।
यहाँ ०७४ को चुनावमा एमालेकी उपमेयरकी उम्मेदवार राना ७ हजार १८ मत ल्याएर विजयी भएकी थिइन् । उनकी निकटतम् प्रतिस्पर्धी कांग्रेसकी भुवनेश्वरी जोशीले ५ हजार ९२८ मत पाएकी थिइन् । माओवादी केन्द्रकी सर्मिला बिष्टले ५ हजार ४०३ र राप्रपाकी उषादेवी थापाले १ हजार ३ मत ल्याएकी थिइन् । ९ वटा वडा रहेको कृष्णपुरमा एमाले, कांग्रेस र माओवादीले ३÷३ वडा जितेको थिए ।
कञ्चनपुरमा ०७४ को स्थानीय तह निर्वाचनमा एमाले सबैभन्दा ठूलो दल बनेको थियो । ९ वटा स्थानीय तह रहेको कञ्चनपुरमा एमालेले ५ वटामा प्रमुख र ७ वटामा उपप्रमुख जितेको थियो । माओवादी केन्द्रले दुई स्थानीय तहमा प्रमुख र एक स्थानीय तहमा उपप्रमुख जितेको थियो । कांग्रेसले दुई स्थानीय तहमा प्रमुख र एक स्थानीय तहमा उपप्रमुख जितेको थियो ।
यति वेलको स्थानीय तह निर्वाचनमा कञ्चनपुरमा नेकपा एमालेलाई आफ्नो विरासत कायम राख्न सकस छ । एमालेको फुट र सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादी दलले चुनावी तालमेल गरेसँगै ०७४ सालमा दबदबा राखेको एमालेलाई विरासत जोगाउन हम्मेहम्मे परेको छ ।
अहिले एमालेबाट विजयी केही जनप्रतिनिधि माधवकुमार नेपालको नेतृत्वको नेकपा एकीकृत समाजवादीमा पनि लागेका छन् । सत्तागठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेस र नेकपा एमाले एक्ला एक्लै तथा माओवादी केन्द्र र एकीकृत समाजवादी बामगठबन्धन बनाएर चुनावी मैदानमा छन् ।
जिल्लाका ९ स्थानीय तहमध्ये ५ स्थानीय तह प्रमुख र ७ स्थानीय तह उपप्रमुख जितेको एमालेलेलाई आफ्नो विरासत जोगाउने यसले गर्दा चुनौती थपिएको छ । दुई स्थानीय तह प्रमुख र एक स्थानीय तह उपप्रमुख जितेको कांग्रेस यसपटक आफ्नो शक्ति बढाएर पुरानै विरासत फर्काउने कसरतमा छ ।
कांग्रेससँग भागबन्डामा सहमति नजुटेपछि छुट्टै गठबन्धन बनाएको सत्तासाझेदार माओवादी केन्द्र ०७४ को शक्ति कायम राख्दै आफ्नो पुरानो दबदबा फर्काउने रणनीतिमा छ । पहिलोपटक निर्वाचनमा सहभागी हुन लागेको एकीकृत समाजवादी पनि माओवादी केन्द्रसँग गठबन्धन गरेर शक्ति सुरक्षित गर्ने रणनीतिमा छ ।

Goda1
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.