बाजुरामा एसका सचिवलाई चक्कु प्रहार गर्ने काँग्रेसका २ कार्यकर्ता प्रक्राउ

बाजुरा : प्रहरीले बाजुराको बुढीनन्दा नगरपालिका–९ पाण्डुसैनको अगाउँपानीमा नेकपा (एकीकृत समाजवादी) का सचिव पुरबहादुर रावतलाई चक्कु प्रहार गर्ने दुई जना नेपाली कांग्रेसका कार्यकर्तालाई पक्राउ गरेको छ ।

शुक्रबार अगाउँपानीमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) कार्यकर्ताबीच झडप हुँदा सचिव रावतलाई चक्कु प्रहार भएको थियो । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार प्रक्राउ पर्नेमा बुढीनन्दा नगरपालिका वडा नम्बर ७ घर भएका केशव कार्की र वडा नम्बर ९ का नरेन्द्र सार्की रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले सचिव रावत र समाजवादीको तर्फबाट बुढीनन्दा नगरपालिका वडा नम्बर ९ मा वडाअध्यक्षका उम्मेदवार रहेका खड्क बोहरामाथि चक्कु प्रहार भएको बताए । घाइते रावत र बोहराको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ । रावतको पाखुरा र हातमा चक्कु प्रहार भएको छ, भने बोहराको टाउको चोट लागेको छ।
काँग्रेस निकट कार्यकर्ताले पालेको कुकुरलाई नेकपा एकिकृत समाजवादीका कार्यकर्ताले हिर्काएपछि दोहोरो झडप भएको बताइएको छ । उक्त झडप नियन्त्रणमा लिन प्रहरीले १६ राउन्ड हवाइ फायर समेत गरेको थियो ।

झडपका बेला सामाजवादीका कार्यकर्ता प्रहरी चौकीमा संरक्षण लिन पुगेका थिए । त्यहाँ पनि काँग्रेस कार्यकर्ताले आक्रमण गरेको सूचना अधिकारी बोगटीले बताए । झडपमा १६ जना प्रहरीसहित २१ जना घाइते भएका थिए । घटनाले उग्र्रप लिन थालेपछि बाजुरा प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेल सहित सुरक्षा निकायका प्रमुख घटनास्थल गएका थिए । हाल घटना नियन्त्रणमा आइसकेको र घटनाका विषयमा अनुसन्धान भइरहेको बाजुरा प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.