कैलारी पुगेर प्रचण्डले मागे गठबन्धनका बागी उम्मेदवारलाई मत
अत्तरिया : सत्तारुढ गठबन्धनमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलारी गाउँपालिका पुगेर गठबन्धनकै बागी उम्मेदवारलाई मत मागेका छन् ।
कैलालीमा गठबन्धनका दलहरूबीच भएको सहमतिअनुसार कैलारी गाउँपालिकाको अध्यक्ष माओवादीले र उपाध्यक्ष कांग्रेसले पाएको थियो । माओवादीले पाएको भागमा अघिल्लोपटक अध्यक्ष निर्वाचित लाजुराम चौधरी र उपाध्यक्षमा कांग्रेसले पाएका भागमा भगवती चौधरीले उम्मेदवारी दिएका थिए ।
उपाध्यक्षमा माओवादीको तर्फबाट अघिल्लोपटक उपाध्यक्षमा निर्वाचित लक्ष्मी चौधरीले पनि उम्मेदवारी दर्ता गरेकी थिइन् । उनी गठबन्धनको उम्मेदवार नभएको भन्दै यसअघि नै कारबाही गरिएको थियो । तर, आज कैलारी गाउँपालिका पुगेर माओवादी अध्यक्ष दाहालले बागी उम्मेदवार चौधरीलाई मत मागेका हुन् ।
यो परिवर्तनको रक्षाको लागि हाम्रो पार्टीका अध्यक्षका उम्मेदवार लाजुराम चौधरी र उपाध्यक्षका उम्मेदवार लक्ष्मी सत्गौवालगायतको टोलीलाई अत्यधिक बहुमत विजयी गराउन चाहन्छु’, उनले भने, ‘उहाँहरूको टीमले विगतमा पनि राम्रो काम गरेको थियो, आउने दिनमा पनि राम्रो काम गर्ने विश्वास व्यक्त गर्न चाहन्छु ।’
उनले पटक–पटक लाजुराम र लक्ष्मीलाई विजयी गराउन आग्रह गरेका थिए । ‘लाजुराम र लक्ष्मी चौधरीसहित म प्रचण्ड पनि तपाईहरुको साथमा रहने विश्वास व्यक्त गर्न चाहन्छु ’, उनले भनेका छन्’, ‘गठबन्धन क्लियर भएको छैन, पार्टीको उम्मेदवार जुनसुकै रूपमा अगाडि आए पनि हाम्रो पार्टीका उम्मेदवारलाई अत्यधिक बहुमतले जिताउन अपिल गर्छु ।’
प्रधानमन्त्रीसँगै आएको भन्दै उनले कांग्रेसले दिएको उम्मेदवारी खारेज नभए एक्लै भए पनि चुनाव लड्नुपर्ने बताए । ‘गठबन्धन गर्नुको अर्थ सबै ठाउँमा झुक्नु होइन’, ‘उनले भने, ‘धोका बेइमानी स्वीकार्य हुँदैन, हामी एक्लै उभिएर लड्न तयार हुनुपर्छ ।’
कैलारी गाउँपालिका एउटा ऐतिहासिक गाउँपालिकामा रहेको भन्दै उनले माओवादीको दृढताका साथका आफ्नो उम्मेदवारलाई जिताउनपर्ने बताए ।
राजनीतिक कारणले स्वतन्त्र भएर उठ्न बाध्य भएकाहरूलाई पनि जिताउन उनले आग्रह गरेका थिए ।
वैशाख १९ गते माओवादी प्रदेश अध्यक्ष हरिराम चौधरीसहितका गठबन्धनका दलहरूले गठबन्धनको आधिकारिक उम्मेदवार नभएको भन्दै विज्ञप्ति जारी गरेका थिए । विज्ञप्तिमा गठबन्धनका उम्मेदवारहरूलाई सघाउन आग्रह गर्दै त्यसो गरेको नपाइए कारबाही हुनेसमेत चेतावनी दिइएको थियो ।
गठबन्धनले कारबाही गर्ने भनेको उम्मेदवारलाई प्रचण्डले विजयी गराउन आग्रह गरेपछि अहिले कैलालीमा गठबन्धनकै दलहरूबीच विवाद हुने देखिएको छ । कांग्रेस जिल्ला सभापति नारणदत्त भट्टले यस विषयमा प्रचण्ड र देउवालालसँगै राखेर जवाफ माग्ने बताए ।