देउवालाई भेट्न पुस्करनाथ ओझाले गरे अस्वीकार
धनगढी : ०७४ को प्रतिनिधिसभा निर्वाचनमा काँग्रेस नेतृ आरजु राणा देउवालाई कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा हराउन भूमिका खेलेर अन्तर्घातको आरोपमा काँग्रेसको कारबाहीमा परेका पुष्करनाथ ओझा स्थानीय तहको निर्वाचनमा पनि खुलेका छैनन् ।
त्यतिखेर आरजु एमाले नेता नारदमुनी रानासँग हारेकी थिइन् । अन्तर्घातको आरोपमा काँग्रेसले उनलाई साधारण सदस्यबाट पनि निस्कासन गरेको थियो । अहिले पनि उनीमाथिको कारबाही फुकुवा भएको छैन ।a
स्थानीय चुनावमा धनगढी उपमहानगर मेयरमा गठबन्धनबाट काँग्रेस नेता नृपबहादुर वड प्रतिस्पर्धामा रहेका बेला ओझा साइलेन्स छन् । जबकि, ०७४ को स्थानीय चुनावमा वडलाई मेयरमा जिताउन ओझा पनि मैदानमा उत्रिएका थिए । तर, अहिले वडलाई सहयोग गर्नु त परैको कुरा बरु आफू निकटलाई स्वतन्त्र उम्मेदवारमा खडा गरेका छन् ।
आगामी प्रतिनिधिसभा निर्वाचनमा आरजु पुनस् सोही क्षेत्रबाट चुनाव लड्ने सम्भावना रहेकाले प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाको ध्यान पनि धनगढीमा छ । आइतबार धनगढी पुगेका उनले सोमबार त्यहाँ आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए । चुनावी जोडघटाउ भइरहँदा देउवाले तिनै ओझालाई भेट्नका लागि बोलाएका थिए । तर, कारबाही यथावत रहेको भन्दै ओझाले देउवालाई भेट्न मानेनन् ।
भेट्न आउन नमानेपछि देउवाले ओझासँग फोनमै भए पनि कुरा गर्न चाहेका थिए । फोनमा कुरा गर्न पनि ओझाले अस्वीकार गरेको उनी निकट स्रोतले जनाएको छ ‘चुनाव अघि नै सल्लाह गरेर हाम्रा पक्षका केही नेतालाई पनि समेटेको भए र नृप (काँग्रेस उम्मेदवार) लाई मेयरमा सहयोग गर्न सकिन्थ्यो, ओझाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, अहिले अन्तिम समयमा आएर बिग्रिसकेको माहोल बनाउन सम्भव हुँदैन । त्यसैले अहिले भेटेर पनि काम छैन । ओझाले अब चुनावपछि भेट्न सकिने सन्देश देउवालाई पठाएका थिए ।