सुदूरपश्चिममा सुरु भयो मतदान
धनगढी : सुदूरपश्चिम प्रदेशमा स्थानीय तह निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ। नगरपालिकाको प्रमुख, उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य पदका लागि मतदान सुरु भएको हो।
सुदूरपश्चिम प्रदेशमा ८८ स्थानीय तह प्रमुख, ८८ उपप्रमुख, ७३४ वडा अध्यक्ष र २ हजार ९३६ वडा सदस्य गरी कुल ३ हजार ८४६ जना जनप्रतिनिधि निर्वाचित हुने छन्। त्यसका लागि झण्डै १३ हजारको उम्मेदवारी परेको छ।
प्रदेशका ८८ स्थानीय तहमा एक हजार १३५ मतदानस्थल र दुई हजार १०३ मतदान केन्द्र छन् भने १६ लाख ३२ हजार १५० मतदाता रहेका छन्। एक लाख ९६ हजार ४७६ मतदाता नयाँ छन्। यस्तै, सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा मतदान सुरु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको बेहडाबाबा माविबाट मतदान सुरु भएको हो। धनगढी उपमहानगरपालिकामा मेयर, उपमेयरसहित ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भइरहेको हो। उपमहानगरको मेयरमा मात्रै ९ जनाको उम्मेदवारी छ।
उपमहानगरमा ९३ हजार १ सय ५१ मतदाता छन्। उपमहानगरपालिकामा सबैभन्दा बढी मतदाता वडा नम्बर ३ मा रहेका छन्। वडा नम्बर ३ मा कूल मतदाता ८ हजार २२१ रहेका छन्। यस्तै वडा नम्बर ५ मा ७ हजार ६४५ मतदाता रहेका छन्।
मुख्य बजार क्षेत्र रहेको वडा नम्बर १ मा भने ७ हजार १३९ मतदाता रहेका छन्। आसन्न स्थानीय तहको निर्वाचनका लागि धनगढीमा ३४ मतदानस्थल तोकिएका छन्। यस्तै १०४ मतदान ओटा मतदान केन्द्र धनगढीमा छन्।