बडिमालिका नगरपालिकामा एमाले विजयी
बाजुरा : बाजुराको सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिकाको मेयर उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा अम्मरबहादुर खडका र उपमेयरमा नन्दा कुमारी थापा विजयी भएकी छन् ।
विजयी खडकाले ४ हजार ९ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वि नेपाली काँग्रेसका धनराज पण्डितले ३५ सय ५२ मत ल्याएर पराजय भएका छन् । त्यस्तै उपमेयरमा विजयी नन्दा कुमारी थापाले ४ हजार २ सय ३३ मत ल्याएका छिन । थापाका प्रतिद्वन्द्वि राधिका कुमारी सिंहले ३ हजार ३ सय ५१ मत ल्याएर पराजय भएकी छन् ।
मेयर उपमेयरमा नेपाली काँग्रेस र एमाले बाट नयाँ अनुहार लडेको थिए । ९ वटा वडा रहेको बडिमालिकामा ७ वटा वडा नेकपा एमाले र २ वटा नेपाली काँग्रेसले जितेको छ । वडा नम्बर १ मा नेपाली काँग्रेसका कृष्णबहादुर कार्की, २ मा एमालेका डम्बरबहादुर महत, ३ मा एमालेका डबलबहादुर रोकाया र ४ मा काँग्रेसका अर्जुन नाथले जितेका छन् ।
त्यस्तै वडा नम्बर ५ मा एमालेका धरमपाल मिजार, ६ मा कृष्ण बहादुर खड्का, ७ मा धर्मराज पाध्याय, ८ चन्द्र बहादुर थापा र ९ मा एमालेकै सुर्यकिरण विक विजय भएका छन् । २०७४ सालको स्थानीय चुनावमा नगरप्रमुख र उपप्रमुख दुबै नेपाली काँग्रेसले जितेको थियो ।
२०७४ मा एमालेले ५ वटा जितेको थियो भने काँग्रेसले ४ वटा जित हात पारेको थियो । पहिलो स्थानीय तहको चुनावमा कार्यपालिकामा नेपाली काँग्रेसको बहुमत भएको थियो भने यो पटक भने एमालेको कार्यपालिकामा स्पष्ट बहुमत भएको छ । सदरमुकाम मार्तडीको बडिमालिका नगरपालिकालाई एमाले र काँग्रेसले अस्तित्वको लडाइका रुपमा लिएका थिए ।
२०७४ सालमा नगरप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार सँग नेकपा एमालेका उम्मेदवार ३८ मतले पराजय भएका थिए ।