धनगढीमा स्वतन्त्र उम्मेदवार हमाल दोब्बर बढी मतले अगाडि
अत्तरिया : कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिएका गोपाल हमाल दोब्बर बढी मतले अगाडडि छन् । हमालले १२ हजार ३०४ मत ल्याउदा उनका निकटतम प्रतिद्धन्दी गठबन्धनबाट नेपाली कांग्रेसका नृपबहादुर वडले ५ हजार ८९२ र नेकपा एमालेका रणबहादुर चन्दले २ हजार ७५२ मत पाएका छन्।
हमाल र वडबीच ६ हजार ४१२ मतको अन्तर छ। यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ५ हजार ३०९ मतका साथ लिड गरिरहेकी छिन्। एमालेकी कन्दकला रानाले ४ हजार ७ सय र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३ हजार १५९ मत पाएका छन्। उपमहानगरपालिकामा अहिलेसम्म वडा नम्बर १, २, ३, १८ र १९ को मतगणना सम्पन्न भएको छ। अहिले ४, ५, १६ र १७ नम्बर वडाको मतगणना भइरहेको छ। शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए।