लम्कीचुहा नगरप्रमुख शाहीको पहिलो निर्णय स् छोरी जन्मिएको परिवारलाई प्रोत्साहन भत्ता

अत्तरिया, ९ जेठ : कैलालीको लम्कीचुहा नगरपालिकाकी नवनिर्वाचित नगरप्रमुख सुशीला शाहीले कार्यभार सम्हालेकी छन् । कार्यभार सम्हालेसँगै उनले पहिलो बैठकबाट तीन वटा निर्णय गरेकी छन् । जसमा भुमिहीन, सुकुम्बासी, दलित, मुक्तकमैया तथा अव्यवस्थित बसोबास गरेकाहरुलाई आर्थिक वर्ष ०७९÷८० भित्र जग्गाधनी लालपुर्जा वितरण गर्ने रहेको छ ।
त्यसैगरि ‘हाम्रो मेयर हाम्री छोरी’ कार्यक्रम अन्र्तगत लम्कीचुहा नगरपालिका अन्र्तगत बसोबास गर्ने घरपरिवारमा छोरीको जन्म भएमा प्रोत्साहन स्वरुप नगद दुई हजार रुपैयाँ प्रदान गरिने र लम्कीचुहा नगरपालिका क्षेत्र अन्तर्गतका पूर्वपश्चिम राजमार्गको चोकमा सिसि टिभी सहितको टावरबत्ती जडान गरिने रहेको छ ।
गठबन्धनका तर्फबाट नेपाली काँग्रेसकी उम्मेदवार बनेकी शाही कैलालीको पहिलो महिला प्रमुख हुन् । उनले लम्की–चुहा नगरपालिकाको मेयरमा अत्याधिक मतले विजयी भएकी हुन् । उनले निवर्तमान मेयर महादेव बजगाईलाई २ हजार २७८ मतले पराजित गरेकी छन् । नवनिर्वाचित नगरप्रमुख शाहीले १२ हजार ७१३ मत प्राप्त गरेकी छन भने मेयरमा पराजित बजगाईले १० हजार ४३५ मत पाएका छन् ।
उपमेयरमा भने नेकपा एमालेकी जुना चौधरी विजयी भएकी छन् । उनले १० हजार ७०८ मत पाएकी छन् । उनले गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी जानकी सिँहलाई पराजित गरेकी हुन् । सिँहले ८ हजार ३०८ मत पाएकी थिईन ।
कुल १० वटा वडा मध्ये ५ वटामा नेपाली काँग्रेसले जितेको छ । काँग्रेसका तर्फबाट वडा नं ३ मा लव शाही, वडा ६ मा लोकेन्द्र कठायत, वडा ७ मा भगवानदिन चौधरी, वडा ९ मा रामप्रसाद चौधरी र वडा १० मा हर्क कठरिया विजयी भएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.