अछाममा विनोद शाही मृत्यु प्रकरण : हत्यामा संलग्न भएको आशंकामा ५ जना पक्राउ

अछाम : अछामको पञ्चदेवल विनायक नगरपालिका ४ का विनोद शाहीको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार मंगलवार साँझ सोही वडाका ५ जना युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुरत शाही, देवेन्द्र शाही, राम शाही, मिलन र महेन्द्र शाही रहेका छन् । उनीहरू सबैलाई विनोदको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । पीडित परिवारले न्यायको माग गर्दै दिनहुँ पंचदेवलन विनायकमा विरोध प्रदर्शन गरिरहेका छन् । नगर प्रमुख लगायतका नाममा किटानी जाहेरी दर्ता नगरी प्रहरीले दोषीलाई बचाउन खोजेको भन्दै पीडित परिवारले विनायक बजारमा दिनहुँ प्रदर्शन गर्दै आएका बेला पाँच जनालाई प्रहरीले अनुसन्धानका लागी नियन्त्रणमा लिएको हो ।
मंगलबार साँझ केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को टोलीले उनीहरूलाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यलय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश बिष्टले बताए । घटनामा संलग्न अन्यको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ । विनोद शाहीको हत्या भएको भन्दै सडकबाट सुरु भएको आन्दोलन सांसदसम्म पुगेको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसदहरूले दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । गत वैशाख ३० सम्पन्न स्थानीय तहको चुनावमा मतदानका क्रममा नेपाली काँग्रेस र नेकपा एमालेबिच सुरु भएको विवादले उग्र रूप लिँदा उक्त घटना भएको हो ।
काँग्रेस र एमाले कार्यकर्ताबिच पुनः विवाद भएपछि जेठ १७ गते मध्य राति प्रहरी गाउँमा पसेर विवादमा संलग्नलाई नियन्त्रणमा लिन खोज्दा स्थानीय वृद्धा वृद्ध, महिला र प्रहरी बिच लछारपछार समेत भएको थियो । सोही रातबाट हराएका विनोद जेठ २१ गते घरबाट करिब ५ सय मिटर टाढा पञ्चदेवल क्याम्पस नजिकै कुच्ची भीरमा मृत अवस्थामा भेटिएका थिए ।प्रहरीले किटानी जाहेरी दर्ता नगरेका भन्दै परिवारले अहिले सम्म पनि शव बुझेका छैनन् । मुचुल्का उठाए पनि शवको पोष्टमार्टम समेत हुन सकेको छैन । परिवारले दोषीलाई कारवाहीको माग गर्दै विनायकमा विरोध प्रदर्शन गरिरहेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.