कैलालीमा समन्वय समिति गठनका लागि मतदान जारी
धनगढी : कैलालीमा जिल्ला समन्वय समिति गठनका लागि मतदान जारी रहेको छ। बिहान साढे ७ बजेदेखि मतदान सुरू भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार पहिलो भोट गोदावरी नगरपालिकाका प्रमुख वीरेन्द्र भट्टले हालेका छन्। जिल्ला समन्वय समितिको निर्वाचनका लागि सत्ता गठबन्धनमा आवद्ध दलबीच तालमेल भएको छ भने एमाले र नागरिक उन्मुक्ति पार्टीले छुट्टै तालमेल गरेका छन्।
समितिको प्रमुख पदका लागि नेपाली कांग्रेसका तर्फबाट पदम कलेल र नागरिक उन्मुक्ति पार्टीबाट इन्द्र चौधरीको उम्मेदवारी छ। जिल्लामा १३ पालिकाका २६ जना मतदाता छन्। तर, भ्रष्टाचार अभियोगमा विशेष अदालतमा विचाराधीन मुद्दाका कारण मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले चुनावी प्रक्रियामा सहभागी हुन नपाउने निर्वाचन आयोगको निर्णयपछि मतदाता संख्या २५ मा झरेको छ।
२५ जनामध्ये सत्ता गठबन्धनका १२ जना छन्। अर्कोतर्फ कैलालीमा नागरिक उन्मुक्ति पार्टी र नेकपा एमालेले तालमेल गरेका छन्। नागरिक उन्मुक्ति पार्टीका ७ र एमालेका ५ मतदाता जोड्दा उनीहरूको पनि १२ पुग्छ। यस्तो अवस्थामा धनगढी उपमहानगरपालिकामा स्वतन्त्र जितेका गोपाल हमाल जिसस चुनावमा निर्णायक हुने देखिएका छन्।