कांग्रेसबाट बागी बनेर जितेका चौधरीले गठबन्धन दललाई सहयोग गर्ने

अत्तरिया : कैलाली जिल्लाको कैलारी गाउँपालिका अध्यक्षमा कांग्रेसका बागी उम्मेदवार राजसमझ चौधरीले रोचक रुपमा चुनाव जिते। सत्ता गठबन्धनले पद भागवण्डा गर्दा कैलारी नेकपा माओवादी केन्द्रको भागमा परेको थियो। त्यसैले राजसमझलाई चुनाव नलड्न कांग्रेस केन्द्रीय कार्यालयले पत्रसमेत पठाएको थियो।

राजसमझले चुनावको सबै तयारी गरिसकेका थिए। कांग्रेस केन्द्रीय कार्यालयबाट सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले उम्मेदवारी फिर्ता लिन पत्र पनि पठाइन्। ‘मेरो उम्मेदवारी खोस्नका लागि पार्टीबाट पत्र आएको थियो। यहाँ गठबन्धन गर्दा माओवादीको भागमा परेकाले मलाई उम्मेदवारी फिर्ता लिन भनिएको थियो, चौधरी भन्छन्, तर, केन्द्रले पठाएको पत्रमा रामसमझ चौधरी भनेर लेखिएको थियो। मेरो नाम राजसमझ हो। रामसमझ मेरो दाइको नाम हो। उक्त नाम नमिलेपछि मैले रुख चिन्हबाट नै चुनाव लड्ने मौका पाएँ ।’

उनले नाम नमिलेर आफ्नो उम्मेदवारी यथावत् रहेको र पालिकाका सबै वडामा समेत कांग्रेसलाई विजयी गराउन सफल भएको बताए। उनी गठबन्धनका उम्मेदवार लाजुराम चौधरीलाई पराजित गर्दै गाउँपालिका अध्यक्षमा विजयी भएका थिए।

राजसमझले १० हजार ४२२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका लाजुरामले ६ हजार ४३० मत ल्याएका थिए। उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै भगवतीकुमारी चौधरी विजयी भएकी थिइन्। उनले माओवादी केन्द्रकी लक्ष्मी सतगौवा थारुलाई पराजित गरेकी हुन्। विजयी भगवतीले १० हजार ४८४ मत प्राप्त गर्दा पराजित थारुले ६ हजार ४७७ मत पाएकी थिइन्।

राजसमझलाई कांग्रेस कैलालीले पनि कारबाही गर्ने जनाएको थियो। यसरी पार्टीको निर्णय विपरीत पालिका अध्यक्षमा उठेर निर्वाचित भएका चौधरी कसरी अघि बढ्छन् भन्ने सबैको चासो थियो।

चौधरीले आज सोमबार हुन लागेको जिल्ला समन्वय समिति निर्वाचनमा के गर्छन् भन्ने पनि चासोको विषय थियो। यहीबीच हिजो आइतबार बेलुकी प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले चौधरीलाई फोन गरेर पार्टीबाट कुनै कारबाही नगरिएको र जिल्ला समन्वय समितिको निर्वाचनमा कांग्रेसलाई सघाउन आग्रह गरे। त्यसपछि चौधरीले कांग्रेसमै खुल्ने बताएका छन्।

उनले कांग्रेसमा आफ्नो परिवारको ठूलो योगदान गरेको कुरासमेत देउवाले स्मरण गरेको बताए। ुमेरो दाइ रामसमझ बालकृष्ण दाइ (बालकृष्ण खाण) अध्यक्ष भएको समयमा तरुण दल र एनपी दाइ (एनपी सावद) अध्यक्ष भएको समयमा नेविसंघको केन्द्रीय सदस्य हुनुहुन्थ्यो। हाम्रो परिवारको कांग्रेसमा ठूलो योगदान छ। मलाई हिजो सभापतिज्यूले फोन गरेर कारबाही नगरिएको बताउनुभयो। उहाँले त झनै मलाई नै पार्टीको आधिकारिक उम्मेदवार भएको र सबै वडामा समेत पार्टीलाई जिताएर सराहनीय काम गरेको भन्दै धन्यवाद दिनुभयो र मलाई कांग्रेसमै रहेर पार्टीलाई सघाउन भन्नुभयो। प्रधानमन्त्रीज्यूले नै फोन गरेर आग्रह गरिसकेपछि मैले नाइँ भन्ने कुरै हुँदैन, चौधरीले भने।

उनले त्यसक्रममा देउवालाई गठबन्धनले आफूलाई कारबाही गर्ने भनेकोमा त्यसको क्लिन चिटु चाहिएको बताएको जानकारी दिए। तर, देउवाले पार्टीले कुनै कारबाही नै नगरेको बताएपछि आफू कांग्रेसमै रहेर काम गर्ने चौधरीको भनाइ छ।

उनले कांग्रेसमा आफ्नो परिवारको ठूलो योगदान रहेको कुरासमेत देउवाले स्मरण गरेको बताए। प्रधानमन्त्रीज्यूले नै फोन गरेर आफ्नो परिवारको योगदानको चर्चा गर्दा खुशी लागेको छ,ु उनले भने। आगामी दिनमा समेत आफूले कांग्रेसमै कटिवद्ध भएर काम गर्ने उनले बताए।

कैलारी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष एवं पालिकाका प्रवक्ता दीपेन्द्र बमले पनि पार्टी सभापतिले नै फोन गरेर आधिकारिक उम्मेदवार चौधरी नै रहेको भन्दै बधाई दिइसकेपछि आफूहरूलाई खुशी लागेको बताए। यसले पालिकामा काम गर्न थप सहज वातावरण सिर्जना गरेको उनी बताउँछन्।

कैलालीमा १३ वटा पालिका छन्। जिसस निर्वाचनका लागि २६ जना मतदाता छन्। भ्रष्टाचार अभियोगमा विशेष अदालतमा विचाराधीन मुद्दाका कारण मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्याय चुनावी प्रक्रियामा सहभागी हुन पाउने छैनन्। यससँगै कैलालीमा मतदाता संख्या २५ मा झरेको छ।

उपाध्यायले मतदान गर्न नपाएपछि कैलालीमा २५ जना मतदाता रहनेछन्। २५ जनामध्ये सत्ता गठबन्धनका १२ जना छन्। कांग्रेसले ८, माओवादीले मोहन्याल बाहेक ३ र नेकपा एकीकृत समाजवादीले १ पालिकामा जित हासिल गरेको थियो।

कैलालीमा नागरिक उन्मुक्ति पार्टी र नेकपा एमालेले तालमेल गर्ने जनाइसकेका छन्। नागरिक उन्मुक्ति पार्टीका ७ र एमालेका ५ मतदाता जोड्दा उनीहरूको पनि १२ पुग्छ। धनगढी उपमहानगरपालिकामा स्वतन्त्र जितेका गोपाल हमाल कसलाई मत हाल्ने खुलेका छैनन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.