सुदूरपश्चिम सरकारको बजेटः शिक्षातर्फ १ अर्ब २३ करोड विनियोजन
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले शिक्षा क्षेत्रका लागि एक अर्ब २३ करोड बढी बजेट विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावलले आज प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।
उनका अनुसार आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्रका लागि १ अर्ब २३ करोड ७३ लाख बजेट विनियोजन गरिएको हो । शिक्षाको गुणस्तर सुधार, आधुनिक पूर्वाधार निर्माण र शैक्षिक जनशक्तिको क्षमता सुधारका लागि प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रमअन्तर्गत उक्त बजेट विनियोजन भएको हो ।
यस्तै, सुदूरपश्चिम प्रदेश सरकारले स्वास्थ्य क्षेत्रका लागि एक अर्ब ६ करोड बढी बजेट विनियोजन गरेको छ । स्वास्थ्य क्षेत्रतर्फ प्रदेशमा रहेका प्रादेशिक र जिल्ला अस्पतालमा सेवा विस्तारको योजना अटाएका छन् ।