बाजुरा बुढिगंगा नगरपालिकाको निर्वाचन असार २३ गते हुने
अत्तरिया : बाजुरा बुढिगंगा नगरपालिकामा असार २३ गते स्थानीय तहको निर्वाचन हुने भएको छ । जिल्ला प्रशासन कार्यलय बाजुरामा बिहिबार बसेको सर्वदलीय बैठकले असार २३ गते चुनाव गर्ने निर्णय गरेर आयोगलाई पठाएको छ ।
बैठकमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा एकिकृत माओवादी, नेकपा एस लगायत राजनीतिक दलका प्रतिनिधि, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख सहितको सहभागितामा मिति तय भएको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले जानकारी दिए । ‘आज बसेको सर्वदलीय बैठकले असार २३ गते बिहिबार चुनाव गर्ने गरी आयोगलाई सिफारिस गरेको छ’, प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्रले भने । ‘निर्वाचन आयोगको कार्यालयले निर्वाचन गर्ने विषयमा सुचना प्रकाशन गर्छ होला ।’
वैशाख ३० मै निर्वाचन भएको बुढीगंगा नगरपालिकामा विवादका कारण पुन मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको थियो । बुढीगंगाका १० वडामध्ये ६ वटामा विवाद भएको थियो । वडा २, ३, ४, ५, ७ र ९ का केन्द्रमा मतदान स्वतन्त्र हुन नसकेको स्थानीयको भनाइ छ । २, ३, ५ र ९ वडाका मतदानस्थल एमालेका कार्यकर्ताले नियन्त्रणमा लिएका थिए भने वडा ४ र ७ मा कांग्रेस कार्यकर्ताले नियन्त्रणमा लिएर आफू अनुकूल मतदान गरेका थिए । यी ६ वटै वडाका मतदानस्थलमा झडप, उम्मेदवारमाथि कुटपिट र मतदाता लखेटिएका थिए ।
नगरपालिकाको वडा नम्बर ४ मा बुथ कब्जा गरेर ९९ दशमलव ४१ प्रतिशतसम्म मत खसाइएको थियो । एमालेले कब्जा गरेका भनिएका २, ३, ५ र ९ मा प्रहरी मतेपटिका मतदान केन्द्रमै छाडेर हिँडेका थिए । तर काँग्रेसे कब्जा गरेको भनिएका ७ र ९ मा प्रहरीले संरक्षण गरिरहेको थियो ।
यस्तै एमालेले नियन्त्रणमा राखेर मतदान गरेको भनिएकामध्ये वडा ९ स्थित त्रिशक्ति मावि मतदानस्थलमा १ हजार ४ सय ८३ मतदाता संख्या रहेकामा १ हजार ३ सय ४७ मत खसेको छ । जुन ९०.८२ प्रतिशत हुन आउछ ।
बुढिगंगाको चुनावका लागि चारपटक निर्वाचन अधिकृत बदलिएका थिए । अहिले लक्ष्मण बहादुर कठायत बुढिगंगा नगरपालिका निर्वाचन अधिकृत रहेका छन् । चुनावको मिति तोक्नका लागि पाँचौ पटकको बैठकले मिति तय गरेको हो