बर्षा नहुँदा सुरु नै भएन रोपाई
अत्तरिया : सुदूरपश्चिममा समयमै वर्षा नहुँदा यस वर्ष धान रोपाई हुन सकेको छैन । सुदूरपश्चिममा अन्नको भण्डार मानिने कैलाली कञ्चनपुरमा सिंचाई सुविधा नहुँदा आकासे पानीको भरमा रोपाई सुरु गर्नुपर्ने अवस्था छ ।
पानी नपर्दा किसानले धान रोपेका छैनन् । यस्तै मौसम हो भने खेत बाँझै रहने र आगामी वर्ष खाद्यान्नमा समस्या हुने किसानको गुनासो छ । मनसुनमा वर्षा नभएका कारण धान उत्पादक किसानहरू खडेरी पर्ने चिन्तामा उनीहरु छन् ।
पानी नपर्दा रोपाइँ गर्न नसकिएको गोदावरी नगरपालिका वडा नम्बर ८ का किसान जितेन्द्र साउँद गुनासो गर्छन् । ‘डेढ विघा जमिनका लागि धानका बेर्ना राखेको १ महिनाभन्दा बढी समय भइसकेको छ । बेर्ना सुक्न थालिसकेको तर रोपाइँका लागि पानी परेको छैन’ उनले भने, ‘गत वर्ष बाली भित्र्याउने समयमा बेमौसमी वर्षाले सबै धान सखाप ग¥यो। यसपालि पानी नपरेर बेर्ना समेत मर्न थालेको छ ।’
सिँचाईको सुविधा पुगेको पहाडी जिल्लामा मात्रै रोपाइँ भइरहेको छ । तर, आकाशे वर्षाको भरमा रोपाइँ हुने स्थानका किसानलाई भने खेत रोप्ने चिन्ता नै देखिएको कृषि विकास निर्देशनालय डोटीका सूचना अधिकारी केशवराज पाण्डेयले बताए । ‘धान रोपाइँका लागि एक महिनाअघि नै बेर्ना राखेका किसानलाई बढी समस्या हुने देखिन्छ’ उनले भने, ‘ढिलोगरी बेर्ना राखेका किसानलाई भने अझै समय भएकाले खासै समस्या हुने देखिदैन ।’
प्रदेशभित्र कूल एक लाख ८१ हजार ३ सय ९६ हेक्टरमा बर्खे धानखेती हुने गरेको छ । धान उत्पादनका मुख्य दुई जिल्ला कैलालीमा ७२ हजार ५ सय र कञ्चनपुरमा ४८ हजार ४ सय ९० हेक्टरमा धानखेती हुन्छ । यस्तै पहाडी क्षेत्रका डोटी, डडेल्धुरा, बाजुरा, बैतडी, बझाङ र दार्चुलामा गरी झण्डै ६० हजार ४ सय ६ हेक्टरमा धानखेती हुन्छ ।
प्रदेशमा बर्खे धानको वार्षिक उत्पादन ५ लाख ८६ हजार ३ सय ५३ मेट्रिकटन र उत्पादकत्व ३ दशमलब २३ मेट्रिक टन प्रतिहेक्टर छ । सबैभन्दा बढी धान उत्पादन कैलालीमा ३ लाख तीन हजार ६ सय ९५ मेट्रिकटन हुने गरेको छ ।
कूल खेतीयोग्य जमिनको झण्डै ५४ प्रतिशत क्षेत्रफलमा मात्र सिँचाइको सुविधा पुगेको छ । बाँकी क्षेत्रफलमा भने किसान आकाशे वर्षाको भरमा रोपाइँ गर्न बाध्य भएको कृषि विकास निर्देशनालयका सूचना अधिकारी पाण्डेयले बताए ।
सुदूरपश्चिममा मनसुनी वायु भित्रन अझै केही दिन लाग्ने मौसमविदहरु बताईरहेका छन् । देशको पूर्वी क्षेत्रबाट भित्रिएको मनसुन आइतबारसम्म गण्डकी प्रदेशमा भित्रिएको छ । तर, सो मनसुन सुदूरपश्चिममा भित्रन भने अझै केहि दिन लाग्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताए ।
मनसुन कहिले छिटो सर्ने र कहिले एउटै ठाउँमा रोकिरहने हुँदा सुदूरपश्चिममा कहिलेसम्म मनसुनी वायु सक्रिय हुन्छ भन्ने बारेमा भन्न नसकिने उनले बताए । तर, यसै साताभित्रै सुदूरपश्चिममा मनसुनी वायु भित्रिने उनको अनुमान छ । ‘मनसुनी वायु गण्डकी प्रदेशसम्म पुगे पनि सुदूरपश्चिममा पुग्न भने अझै केही दिन लाग्ने देखिन्छ,’ मौसमविद् प्रधानाङ्गले भने, ‘छिनछिनमा मनसुनको गति परिवर्तन हुने हुँदा ठ्याक्कै दिन तोक्न भने सकिदैन, तर यसै साताभित्र सुदूरपश्चिममा वर्षा हुनेछ ।’ उनले यसै हप्ताको मंगलबार देखि बिहीबार सम्म सुदूरपश्चिममा मनसुनी वायु भित्रिने अनुमान गरिएको बताए ।
कैलालीमा बिहीबारदेखि नै बदली रहेको र सोमबार पनि बदली हुने अनुमान गरिएको मौसमविद् प्रधानाङ्गले बताए । सुदूरपश्चिममा पश्चिमी वायु सक्रिय रहेका कारण प्रदेशका पहाडी क्षेत्रमा वर्षा हुने र तराईमा आंशिकदेखि पूर्ण बदली हुने सम्भावना रहेको उनले बताए । ‘पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिमका पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना छ,’ उनले भने, ‘तराईमा वर्षाको सम्भावना न्यून छ, केही दिन आंशिकदेखि पूर्ण बदली हुने देखिन्छ, जसका कारण तापक्रम स्थिर रहन सक्छ ।’