‘दिगो विकास समृद्धि गोदावरी अभियान’ अन्तरगत नगरपालिकालाई ज्ञापनपत्र
अत्तरिया, ९ असार : विभिन्न मागहरु राखेर गोदावरी नगरपालिकालाइ ज्ञापन पत्र बुझाएको छ । गोदावरी नगरपालिकाका नगर प्रमुख, उपप्रमुख लगायत १२ वटै वडाका वडाध्यक्षहरुलाइ गोदावरी क्षेत्रका जनताहरुका अति आवश्यक र मानविय जिवनसंग जोडिएका प्रमुख योजनाहरुको माग गर्दै दिगो विकास समृद्धि गोदावरी अभियानको तर्फबाट अभियान्ता गणेश जिमी साउँद सहितको टोलीले नगरपालिकालाइ विहीवार ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा स्वास्थ्य, खानेपानी, कृषिपर्यटन, शिक्षा, पशु चौपाया, भौतिक पुर्वाधार, दुव्र्यशनी रोकथाम लगायतका मागहरु राखिएका छन । डेलीभरी सेवा १२ वटै वडामा स्थापना गर्नुपर्ने, मालाखेती अस्पतालमा चिकित्सक सेवाको प्रभाबकारी व्यवस्था गर्नुपर्ने तथा प्रत्येक वडामा एउटा सर्पदंशा स्थापना गर्नुपर्ने, गोदावरी नगरपालिका भित्र एक घर एक शुद्ध खानेपानीको धाराको व्यवस्था ,तहगत सिचाइ प्रणाली मार्फत सिचाइ अगाडि बढाउनु पर्ने, प्रत्येक वडामा एउटा विद्यालयमा व्यवसायिक तथा प्राविधिक शिक्षा लागु गर्नुपर्ने, गोदावरी नगर क्षेत्रमा रहेका छाडा चौपायाहरुको उचित व्यवस्थापन गर्नुपर्ने, दुव्र्यसनी रोकथामका लागि सुधार केन्द्रको स्थापना गर्नुपर्ने, अति आवश्यक दिर्घकालीन रहने गरी भौतिक पुर्वाधारको कार्य अगाडि बढाउनुपर्ने अभियानले माग गरेको छ ।
यस्तै मुख्य आर्थिक स्रोतको रुपमा रहेको धार्मीक पर्यटनका लागि धार्मीक सर्किट निर्माण गरी गोदावरी धाम, मष्टा धाम, ग्वाला देउ, बेहेडा बाबा, शिवपुरी धाम, समैजी, सेलफाटा धामहरुलाइ एकिकृत गरी गोदावरी क्षेत्रका धामहरुको विकास गर्नुपर्ने तथा अन्य धामहरुको विकासका लागि सम्बन्धित स्थानीय निकाय संग समन्वय गर्नु पर्ने माग गरिएको छ । अभियान कर्ताहरुले यि मागहरु नगरपालिकाको निती तथा कार्यक्रममा पनि समाबेश गर्नुपर्ने समेत माग गरेको छ ।