सुदूरपश्चिम सरकारले लुम्बिनी प्रदेशका योजनाका लागि बजेट विनियोजन
धनगढी,१० असार : सुदूरपश्चिम सरकारले बजेटमा लुम्बिनी प्रदेशका योजनाका लागि बजेट विनियोजन गरेको पाएको छ। प्रदेश सरकारले असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा लुम्बिनी प्रदेशका योजना पनि राखेको पाइएको हो।
दाङको लमही नगरपालिका – ९ को सिरिग्ङी खोलामा र सोही वडाको कालीखोलामा तटबन्ध निमार्णका लागि बजेट छुटाइएको देखिएको हो। सिरिग्ङी खोलाको लागि प्रदेश सरकारले १० लाख र कालीखोलामा तटबन्ध निमार्णका लागि १० लाख बजेट छुटाइएको प्रदेश सरकारको आर्थिक वर्ष ०७९\०८० को वार्षिक विकास कार्यक्रममा देखिएको छ।
यस्तै रजापुर नगरपालिका ७ गिठुवा टोल दाङमा राप्ती नदी नियन्त्रणका लागि पनि सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गरेको छ। उक्त योजनाको लागि पनि प्रदेश सरकारले १० लाख बजेट विनियोजन गरेको हो।
असार १ गते सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश रावलले प्रदेश सभामा अगामी आर्थिक वर्ष २०७९\०८० को लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट प्रस्तुत गरेका थिए ।सुदूरपश्चिम प्रदेशमा बजेटको विपक्षमा अहिले सत्ता पक्ष र विपक्ष दुवै एकै ठाउँमा उभिएका छन् । उनीहरूले संयुक्त रूपमा बजेट संशोधन गर्नु पर्ने बताइरहेका छन् ।
