अत्तरिया : पाँच वर्षअघि बिबिसीमा प्रसारण हुने साझा सवाल कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न सोधेर चर्चित बनेका व्यक्ति डडेल्धुराबाट संसदीय चुनाव लड्ने भएका छन् ।
गुल्मीका सागर ढकालले पाँच वर्षअघि प्रधानमन्त्री देउवालाई ‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौं?’ भन्दै प्रश्न गरेका थिए । देउवाले जवाफमा झोक्किँदै ‘तपाईं बढ्ता बोल्दैहुनुहुन्छ’ भनेर जवाफ फर्काएका थिए ।
देउवालाई प्रश्न सोध्ने बेलादेखि नै आफूमा राजनीतिक गर्ने सोच आएको उनी बताउँछन् । मंसिरमा संसदीय चुनाव हुँदैछ । यसपालिको चुनावमा ढकालले डडेल्धुरामा प्रधानमन्त्री देउवालाई चुनौती दिने तयारीमा गरिरहेको बताएका छन । ४० वर्षमुनिका व्यक्तिलाई प्रधानमन्त्री बनाउने लक्ष्यका साथ आफू राजनीति गर्न नेपाल फर्किएको उनको भनाइ छ । गुल्मीका सागरले सुदूरपश्चिममा गएर देउवाको गृह जिल्लामा चुनाव लड्नुको कारण उनकै शब्दमा देशभरि सन्देश दिन खोजेको उनले बताए ।