डडेल्धुरा : डडेल्धुराको एक वडामा मदिरा सेवन तथा विक्री वितरणमा रोक लगाइएको छ । जिल्लाको अमरगढी नगरपालिका–८ ले मदिरा सेवन तथा विक्री वितरणमा रोक लगाएको हो ।
वडामा मदिरा बिक्री वितरण गर्दै आएका व्यापारी तथा वडावासीसँगको छलफलपश्चात् उक्त निर्णय गरिएको वडा अध्यक्ष रनबहादुर साँकीले जानकारी दिए । मदिरा बिक्री वितरण तथा सेवन गरि हो हल्ला गर्नेलाई कारबाही गर्ने निर्णय गरेको उनको भनाई रहेको छ ।
उनले वडामा मदिरा सेवन गरि हो हल्ला गर्नेलाई दुई हजार पाँच सय र बिक्री गर्नेलाई ५ हजार जरिवाना गरिने बताए । मदिरा रोकथामका लागि ११ सदस्यीय समितिमा महिला पुरुष दुबैलाई समावेश गरिएको छ ।
यदि कसैले दोस्रो पटक मदिरा सेवन गरि हो हल्ला गरेको पाइए ५ हजार र दोस्रो पटक बिक्री गर्नेलाई १० हजार जरिवाना गरिने वडा कार्यालयले निर्णय गरेको छ ।
‘मदिराले समाजमा विभिन्न किसिमका बिकृती आउन थाले । मदिरा सेवन तथा विक्री वितरणमा रोक लगाउँछु भनेर हिँडेको दश वर्ष भयो,’ वडा अध्यक्ष साँकीले भने, ‘वडामा रहेका महिलाले हामी अगाडि बढ्छौ । तपाईंलाई साथ दिन्छौं भनेपछि हामी यो अभियानमा लागेका हौं ।’ कसैको श्रीमानले रक्सि सेवन गरेर आए श्रीमानको पक्षमा लाग्ने महिलालाई समेत कारबाही गरिने उनले बताए । वडा नम्बर ८ ले मदिरा नियन्त्रणका लागि ९ नम्बर वडासँग पनि सहकार्य गरिरहेको उनको भनाइ छ ।