सुदूरपश्चिममा कोरोना : एक संक्रमितको मृत्यु, थप ७७ जनामा संक्रमण

अत्तरिया : कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । कोभिड अस्थायी अस्पतालमा आईसीयूमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए
बिहीबार अस्पताल भर्ना भएका ती पुरुषमा अल्कोहोलिक हेपाटाइटीसको समस्या थियो तर परीक्षणका क्रममा उनलाई कोरोना भाइरसको संक्रमण पनि देखिएको थियो ।
सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप ७७ जनामा कोरोना संक्र्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८७१ जनाले परीक्षण गराउँदा सो संख्यामा संक्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
एन्टिजेन विधिबाट परीक्षण गरिएका ४९ र पीसीआर विधिबाट परीक्षण गरिएका २८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका २१ जना शुक्रबार भारतबाट फर्किएका व्यक्ति रहेका छन् । गौरीफन्टा नाकाबाट फर्केका १०, गड्डाचौकी नाकाबाट फर्केका आठ र झुलाघाट नाकाबाट फर्केका तीन जनामा संक्रमण पुष्टि भएको छ । यो संगै सुदूरपश्चि प्रदेशभरि सक्रिय संक्रमितको संख्या २९३ पुगेको छ । अहिले १० जना संक्रमित अस्पताल भर्ना भएका छन् । जसमध्ये एक जनाको आइसीयुमा उपचार भइरहेको छ । प्रदेशभरि कोरोनाको कारण ज्यान गुमाउनको संख्या ६३४ पुगेको छ ।
कोरोना संक्रमण बढेपछि सुदूरपश्चिमका सीमा नाकामा कडाई गरेको छ । देशभर एकैदिन थप ९१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभरबाट ६४९१ नमूना परीक्षण गर्दा ९१२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट २९४१ र एन्टिजेनबाट ३५५० नमूनाको परीक्षण गर्दा पीसीआरबाट ५२९ र एन्टिजेनबाट ३८३ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो ।
मन्त्रालयकाअनुसार पछिल्लो २४ घन्टाको अवधिमा थप ३७० जना कोरोनामुक्त भएका छन् । हाल कोरोना सक्रिय संक्रमितको संख्या ५७६० पुगेको छ ।
जन स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह
कोभिड १९ को संक्रमण दिनानुदिन बढ्दै गएकोले जन स्वास्थ्यका मापदण्ड पालना गर्न जिल्ला प्रशासन कार्यालय बाजुराले अनुरोध गरेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय बाजुरामा प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द अधिकारीको अध्यक्षतामा बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले सो निर्णय गरेको हो ।
जिल्लाको टाटेँ स्वास्थ्य चौकीमा एक जनामा कोराना एन्टीजिन पोजेटिभ देखिएकोले स्थानीय तहले आवस्यक व्यस्थापन गर्न संकट व्यवस्थापन केन्द्रको बैठकले निर्देशन गरेको छ ।
त्यसैगरि कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका ५ बर्ष देखि ११ बर्ष मुनिका बालबालिकाहरुलाई कोभिड १९ बिरुद्धको फाईजर खोप अभियान संचालन गर्ने निणर्य गरेको छ । सो अभियान भदौ ५ गते देखि १५ गते सम्म संचालन गर्न बैठकले निणर्य गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
कोभिड १९ रोकथाम तथा नियन्त्रण गर्न सार्बजनिकस्थल कार्यालय र भिडभाड हुने स्थल रमणियस्थल तथा मेला लाग्ने ठाउँमा अनिवार्य मास्कको प्रयोग गर्न कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले निणर्य गरेको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीले बताएका छन ।
साथै जिल्लाका नौ ओटै स्थानीय तहका स्वास्थ्य संस्थाहरुमा आइसोलेशन, भ्यन्टिलेटर, आइसियू र शैया थप गरि अक्सिजन व्यवस्थापन लगायत आवस्यक व्यवस्थापन गर्न अनुरोध गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.