प्रदेश र प्रतिनिधि सभा निर्वाचन : दलहरु आन्तरिक जोडघटाउमा

अत्तरिया : संसदीय निर्वाचनको मिति घोषणा भएपछि दलहरूले आन्तरिक जोडघटाउ सुरू गरिसकेका छन् । सँगै उम्मेदवारीका लागि दाबी पनि उत्तिकै छ । कतिपय आकांक्षीहरु सामाजिक सञ्जालमा भए पनि आफ्नो उम्मेदवारी रहेको दावी गर्न थालेका छन् ।
आईतबार मात्र सामाजिक सञ्जाल मार्फत कैलाली क्षेत्र नम्बर ३ को संघीय सांसदमा नेता भीम बडुवालले आफ्नो उम्मेदवारी रहने बताएका छन् । ‘यो पाली मेरो कैलाली क्षेत्र नम्बर ३ को संघीय सांसदको उम्मेदवारीमा आफ्नो बलियो दाबी रहेको जानकारी गराउन चाहान्छु । शुभेच्छुक, पार्टीका नेता कार्यकर्ताहरुमा तथा न्यायप्रेमी जनसमुदायमा न्यायको पक्षमा, परिवर्तन र विकासका पक्षमा उभिनका निम्ति अनुरोध गर्दछु ।’
उनी मात्र होइन सुदूरपश्चिमका १६ वटै संघीय निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारी प्रस्तुत भईरहेका छन् । आफ्नो बलियो पकड भएको क्षेत्रमा उम्मेदवारी रहेको नेताहरु बताई रहेका छन् ।
चुनावको मिति तय भएसँगै गाउँ–घरमा माहोल तातेको छ । धेरै दलहरु कार्यालय समेत खुले रहेका छन् । आईतबार बर्खरै गठित स्वतन्त्र दलले धनगढीको राजपुरमा सुदूरपश्चिम प्रदेश कार्यालय स्थापना गरेको छ ।
नेपाली काँग्रेस कैलालीका नेता गोविन्दराज जोशीले नेता कार्यकर्ताहरुलाई चुनाव लागि सकेको बताए । ‘पार्टीका आन्तरिक बैठकहरु सञ्चालन भईरहेका छन्’, उनले भने । ‘उम्मेदवारका आकांक्षीहरु समेत आफ्नो उम्मेदवारी प्रस्तुत गरिरहेका छन् ।’
नेता तथा कार्यकर्ताहरु टिकट लिनका लागि काठमाडौँ धाउन थालिसकेका छन् । ‘धनगढीका नेताहरु टिकटका लागि आफ्ना नेताहरुलाई रिझाउन काठमाडौँ हिँडिसके भने केही हिड्ने तयारीमा छन्,’ एक नेताले भने
गठबन्धनको देशभरको क्षेत्र बाँडफाँड गर्ने कार्यदल बनेको बताउँदै नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य रमेश धामीले भने,‘गठबन्धनले नेकपा माओवादी केन्द्रको क्षेत्र कहाँ–कहाँ पर्छ, त्यो टुंगो लगाएपछि पार्टीको आन्तरिक छलफलले पाटीले उम्मेदवारको नामावली माग्ने र त्यपछि दावीका लागि नेताहरु तयारी हुनेछन् ।’
पार्टीको प्रक्रियागत कार्यक्रम अनुसार नै नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरु अगाडि बढ्ने उनले बताए । तर पनि अहिले निर्वाचनको मिति घोषणा भएसँगै यहाँका पसल, चौक चौतारा तथा चिया चमेनागृहमा नेता कार्यकर्ताको निर्वाचन केन्द्रित बहस तथा छलफल भने हुन थालिसकेको उनी बताउँछन् ।
‘स्थानीय तहको निर्वाचन सकेर आराम गरिरहेका नेता कार्यकर्ताहरु पुनः जुर्रमुराउन थालेका छन्,’ उनले भने, ‘अब चुनावको रौनक सुरु भइसक्याो ।’
स्थानीय तह अनुसार पनि राजनीतिक दलहरु चुनावी रणनीतिमा लागि रहेका छन् । आउँदो मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि आफूले पनि तयारी थालेको बताउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ माया विष्टले भनिन्,‘म अत्तरिया क्षेत्रमा चुनाव लड्नका लागि तयारी गरिरहेकी छु, त्यसका लागि यहाँ नेता तथा कार्यकर्तासँग भेटघाटको तयारी तीव्र पारिसके ।’
समयमा निर्वाचन गर्नुपर्छ भन्ने नेकपा एमालेको माग अनुरुप नै मिति घोषणा भएको बताउँदै एमाले सुदूरपश्चिम प्रदेश सचिव धर्मराज पाठकले भने, ‘समयमै निर्वाचनको मिति घोषणा भयो, त्यो स्वागतयोग्य छ । टिकट लिने कुरा भने पार्टीकै अन्तिम निर्णय हो ।’ अहिले एमालेले सुदूरपश्चिममा स्थानीय तहको निर्वाचको समीक्षा गरिरहेको बताउँदै उनले भने, ‘हामी विगतको निर्वाचनको समीक्षामा छौ र पार्टीको विधि, विधान तथा नीतिबारे कार्यकर्तामाझ प्रशिक्षित गराउँछौँ। त्यही अनुसार हामी अहिले केन्द्रित भएका छौँ ।’
प्रदेश सभा निर्वाचनका लागि लड्ने निर्वाचन क्षेत्रका मतदातासँगको भेटघाट सुरु गर्न थालेको काँग्रेस नेता पूर्ण कुँवरले बताए । उनले भने,‘नेताहरु टिकटका लागि काठमाडौँ धाउँदैछन्, म भने पहिलो चरणमा स्थानीय नेता तथा कार्यकर्ता र मतदातासँगको भेटघाटमा निस्कन्छु । त्यसपछि मात्रै टिकटका लागि लविङ गर्छु ।’
धरातल बलियो भएमा मात्रै चुनाव जितिने भएकाले धरातल मजबुत बनाएर मात्रै टिकटका लागि अगाडि बढ्नु उचित हुने बताउँदै उनले भने, ‘नेपाली कांग्रेसले जित्ने चुनाव लड्नुपर्छ, न कि हार्नका लागि ?, त्यही भएर म जित्ने चुनावका लागि एक राउण्ड निर्वाचन क्षेत्रमा उपलब्ध साथीभाइ तथा मतदाताहरुसँग भेटघाटमा निस्कन्छु ।’ यस पटकको निर्वाचन दलहरु भित्र बाट मात्र होइन वाहिर बाट पनि उत्तिकै उम्मेदवारी रहने धेरैको आकालन रहेकोे छ । बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट धेरै ठूला सहरमा निर्वाचित भएको हुँदा यस पटक ससंदीय निर्वाचनमा पनि उम्मेदवारी रहने छ । धेरै जना आफ्नो आन्तरिक तयारीमा समेत जुटेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.