सत्तारुढ गठबन्धनमा सिट बाँटफाँटका तीन आधार

काठमाण्डौँ : सत्ता गठबन्धनका पाँच दलले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँट तीन आधारमा गर्ने भएका छन् ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको कार्यदलको बैठकमा तीन आधार बनाई सिट भागबण्डा गर्ने समझदारी बनेको हो ।
उक्त सहमतिअनुसारका तीन आधार, पहिलो, प्रत्यक्षमा पाएको मत र जितेको सिट दोस्रो, समानुपातिकमा पाएको मत र, तेस्रो शीर्षसहितका प्रभावशाली नेताहरुलाई संसदमा ल्याउने रहेका छन । बिहीबारको बैठकमा प्रत्यक्षमा चुनाव जित्ने दल र उसले पाएको मतलाई विश्लेषण गरेर उक्त क्षेत्र त्यही दललाई दिने कुरा भएको छ ।
यस्तै, पाँच दलले समानुपातिक प्रणालीमा पाएको मतलाई पनि आधार मानेर भागबण्डा प्रस्ताव पेश भएको छ । ‘कतिपय क्षेत्रमा व्यक्तिलाई मत नआउने तर, पार्टीलाई मत खसेको हुनसक्छ, त्यो पनि हेरेर सिट बाँडफाँट गर्नुपर्ने प्रस्ताव छ,’ ती नेताले भने ।
पाँचवटै पार्टीमा रहेका शीर्ष नेतालाई जसरी पनि संसदमा ल्याउनुपर्ने रणनीतिसहित गठबन्धनमा सहमति कायम गर्ने समझदारी बनेको छ ।
‘हाइ प्रोफाइल लिडरहरूलाई संसदमा ल्याउनुपर्छ, त्यसका लागि गठबन्धनमा साझा सहमति खोज्ने भन्ने भएको छ,’ अर्का नेताले भने, ‘शीर्ष नेताहरुले पाएको मतको पनि विश्लेषण गर्ने भन्ने छ ।’
यी तीन आधारमा बाँडफाँटको कुरा भए पनि सबै पार्टीहरूमा फेरि छलफल गरेर बैठक ३० गते बस्ने निर्णय भएको कार्यदलका सदस्य तथा माओवादी केन्द्रका स्थायी समिति सदस्य देव गुरुङले जानकारी दिए । बैठकमा कुनै पनि दलले सिटको दाबी गरिसकेका छैनन ।
‘उहाँहरुको मनस्थितिको कुरा त गर्नुभयो,’ अर्का एक नेताले भने, ‘तर, पहिला पार्टीभित्र राम्रोसँग होमवर्क गरेर फेरि बसौँ भन्ने कुरा भएपछि उठ्यौँ ।’ कांग्रेसका कार्यदल सदस्यहरुले सभापति शेरबहादुर देउवासँग थप छलफल गर्ने बताएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.