प्रधानमन्त्री देउवा र पत्नी आरजुले पुरानो क्षेत्र नछाड्ने

काठमाण्डौँ : प्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी डा. आरजु राणा पुरानै क्षेत्रबाट संसदीय निर्वाचन लड्ने भएका छन् । प्रधानमन्त्री देउवा गृहजिल्ला डडेल्धुरा र पत्नी डा. राणा कैलाली क्षेत्र नम्बर ५ बाट संसदीय निर्वाचन लड्ने तयारीमा लागेका हुन् ।
यद्यपि, दुवैले पुरानो निर्वाचन क्षेत्र छाडेर नयाँ क्षेत्रको खोजी गरिरहेको चर्चा चलिरहेको छ । तर, बालुवाटारनिकट स्रोतले क्षेत्र परिवर्तनबारे सञ्चारमाध्यममा आएका समाचारमा सत्यता नभएको दाबी गरेको छ ।
‘प्रधानमन्त्री डडेल्धुराबाटै र पत्नी आरजु कैलाली–५ बाट उठ्नु हुन्छ,’ समाचार स्रोत भन्यो, ‘कसले कसरी अफवाह फैलाउँछ थाहा छैन । तर, यति बुझ्नुस् ती क्षेत्र परिवर्तनमा सत्यता छैन ।’
कांग्रेस कैलालीले पनि प्रधानमन्त्री पत्नी डा. राणा कैलाली–५ बाटै निर्वाचन लड्ने दावी गरेको छ । ‘भाउजु यतैबाट चुनाव लड्नुहुन्छ । निर्वाचन क्षेत्र सार्ने कुरामा सत्यता छैन,’ कांग्रेस कैलालीका सचिव केशव मिश्रले भने, ‘यसबारे पार्टीमा सल्लाह र छलफल भइसकेको छ ।’
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा डा. राणा कैलाली–५ मा नेकपा एमालेका नारदमुनि रानासँग पराजित भएकी थिइन् । उनलाई रानाले झण्डै ५ हजार मतले हराएका थिए ।
एमाले नेता राना २७ हजार २०२ मतसहित विजयी हुँदा डा. राणाले २२ हजार ३२२ मत ल्याएकी थिइन । यस्तै, तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का लक्ष्मण चौधरीले ६ हजार ७४७ र विवेकशील साझाका दिनेशराज भण्डारीले २ हजार ७२२ मत ल्याएका थिए ।
स्थानीय तह निर्वाचन २०७९ मा वडाध्यक्षका उम्मेदवारले पाएको मतलाई आधार मान्दा कैलाली–५ मा कांग्रेसको मत २२ हजार ७७९ देखिएको छ ।
एमाले १७ हजार ४२० मतसहित दोस्रो र माओवादी ८ हजार १७५ सहित तेस्रो स्थानमा छ । यस्तै, नेकपा एकीकृत समाजवादीको पक्षमा २ हजार ९, राप्रपाको पक्षमा १ हजार ७९७, नागरिक उन्मुक्ति पार्टीको पक्षमा ६५९ मत देखिएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ३०२ पाउँदा जनता समाजवादी पार्टी (जसपा) को १५० मत छ । २०७४ को निर्वाचनमा माओवादी केन्द्रको सहयोगमा एमाले उम्मेदवार रानासँग पराजित भए पनि डा. राणालाई आसन्न निर्वाचनमा सहज देखिएको छ ।

यस पटक कांग्रेसले सत्ता गठबन्धनका दलहरूसँग चुनावी तालमेल गर्ने निश्चित भइसकेकाले उनलाई सहज हुने देखिएको हो । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा गृहजिल्ला डडेल्धुराबाट लगातार निर्वाचन जित्दै आएका छन् । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनले डडेल्धुराबाट २८ हजार ४४६ मत ल्याएका थिए ।
देउवाका चिरपरिचित प्रतिद्वन्द्वी माओवादी केन्द्रका खगराज भट्टले २१ हजार ४९८ मत पाएका थिए । तत्कालीन समयमा डडेल्धुरामा माओवादीले एमालेसँग चुनावी तालमेल गरेको थियो ।
देउवाले निर्वाचन लड्दै आएको डडेल्धुराका स्थानीय तहका वडाध्यक्षका उम्मेदवारले स्थानीय तह निर्वाचनमा प्राप्त गरेको मत हेर्दा कांग्रेसका पक्षमा २१ हजार ७३५ मत देखिएको छ । यस्तै माओवादीले १२ हजार ८७८, एमालेले १० हजार ४४९, एकीकृत समाजवादीले ५ हजार ४१ मत ल्याएका छन् ।
स्थानीय तह निर्वाचनमा दलहरुले प्राप्त गरेको मतअनुसार गठबन्धन दलको मत डडेल्धुरामा ३९ हजार ६५४ देखिएको छ । डडेल्धुरामा कुल मतदाताको संख्या झण्डै ८५ हजार छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.