निर्वाचन अगाडि नै टीकापुर घटनाका राजबन्दीहरुलाई रिहा गर्न माग

टीकापुर, ७ भदौ : आसन्न निर्वाचन अगाडि नै टीकापुर राजबन्दीहरुलाई रिहा गरी सामाजिक सदभावको वातावरण राज्यले सिर्जना गर्नुपर्ने माग गरिएको छ । २०७२ भदौ ७ गते टीकापुरमा घटना भएको दिनलाई विद्रोह दिवसको रुपमा मनाउन आयोजित समारोहका वक्ताहरुले राजनीतिक दलहरुले घटनालाई राजनीतिक घटना भने पनि निर्णय गर्न नसकेको सो माग गरेका हुन् ।

सुशासन, समृद्धि र सद्भावका लागि टीकापुर घटनालाई राजनीतिक घटना रहेको निर्णय गरी सांसद् रेशम चौधरी लगायत सम्पूर्ण राजबन्दीलाई रिहा गर्नुपर्ने वक्ताहरुको माग थियो ।

उनीहरुले थारु समुदायले राजनीतिक माग राखिगरेको आन्दोलनमा भएको घटनालाई लिएर आन्दोलनमा संलग्न निर्दोष व्यक्तिलाई जेल सजाय गरेकोप्रति विरोध जनाएका छन् । २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा रेशम चौधरी विजयी भएपनि पाँच वर्षदेखि कैलालीको निर्वाचन क्षेत्र नं. १ संघीय जनप्रतिनिधिविहिन भएको छ ।

थरुहट÷थारुवान राष्ट्रिय मोर्चा तथा थारु कल्याणकारिणी सभालगायतले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै टीकापुर नगरपालिकाका मेयर एवं नागरिक उन्मुक्तिका नेता रामलाल डंगौरा थारुले भने, ‘विकास, समृद्धि र सदभावको लागि तत्काल टीकापुर घटनाको अभियोगमा थुनिएका बन्दीहरुलाई तत्काल रिहा गरिनुपर्छ । उहाँहरुको रिहाइपछि टीकापुरमा कहिलै पनि सदभाव बिग्रने छैन ।’
कैलालीका सबै स्थानीय तहहरुले टीकापुर घटनालाई राजनीतिक घटना रहेको निर्णय गरी सो घटनाका अभियोग लागेका व्यक्तिहरुको रिहाइ गर्न पहल गर्नुपर्ने लम्की चुहा नगरपालिकाकी मेयर सुशिला शाहीले बताइन् ।

थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य रामचरण चौधरीले टीकापुर घटनाको निकासको लागि टीकापुर घटना छानविनको लागि तयार पारिएको गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताए । सरकारले प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ गरिँदा थारुलगायत उत्पीडित समुदायमाथि अन्याय भएको उनको भनाइ थियो ।

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीले आयोजित कार्यक्रममा बोल्दै भजनी नगरपालिकाका मेयर केवल चौधरीले अधिकार प्राप्तीको राजनीतिक आन्दोलनमा राज्यले दमन गर्दा टीकापुर घटना घट्न पुगेको बताउँदै उनले यहाँको विकाको लागि राज्यले टीकापुर घटना सम्बोधन गर्न ढिलाइ गर्न नहुने उल्लेख गरे । थरुहट नेता लक्ष्मण थारुले हालसम्म राजनीतिक आन्दोलनलाई आपराधिक आन्दोलनको रुपमा लिएको बताउँदै अब हुने चुनावलाई नै आन्दोलनको रुपमा लैजान आह्वान गरे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.