तीन बर्षपछि तीजको चहलपहल

अत्तरिया : महिलाहरुको पर्व हरितालिका तीज यस बर्ष भदौ १४ गते परेको छ । यस अघिका दुई बर्ष कोरोनाका कारण घर भित्र सिमित भएको तीज यस बर्ष खुल्ला रुपमा मनाउने थालेका छन् । तीज पर्वका लागि विभिन्न ठाउँमा दर खान सुरु भएको छ । तीज आउन तीन दिन मात्र बाँकी रहँदा विभिन्न ठाउँमा समुह बनाएर दर खाने कार्यक्रहरु भईरहेका छन् । अत्तरिया, धनगढी लगायका सहरमा तीजको चहलपहल सुरु भएको छ ।
दुई बर्ष सम्म कोरोनाका कारण सुनसान रहेको यहाँका बजारहरूमा यस वर्ष भने चहलपहल बढेको देख्न सकिन्छ । यस बर्ष कस्मेटिक व्यवसायी समेत हौसीएका छन् ।
महिलाले महान चाडको रुपमा लिइँदै आएको तीजमा नयाँ लुगाफाटा देखि गरगहना किन्नेको यति बेला बजारमा भिड लाग्ने गरेको छ । बजारमा सुनचाँदी देखि लिएर कपडाको माग समेत बढेको यहाँका व्यापारीहरू बताउँछन् । गोदावरी नगरपालिका वडा नम्बर २ का कपडा व्यवसायी पुष्प अवस्थीले विगत दुई बर्ष देखि ठप्प रहेको व्यवपार यस बर्ष बढेको बताए । ‘विगतको वर्ष कोरोनाका कारणले व्यापार व्यवसाय ठप्प भएको थियो । तीजको चहलपहल केही थिएन’, उनले भने,‘यस वर्ष विगतको जस्तो कोरोना पनि छैन । तीजको चहलपहल निकै बढदैछ । पोहोर सालभन्दा यस वर्ष व्यापार व्यवसाय पनि राम्रै भइरहेको छ ।’ तीजमा कपडाका साथसाथै गरगहनाहरूको समेत माग बढेको छ । सुनचाँदी पसलमा पनि ग्राहकहरुको घुँईचो लाग्ने गरेको सुनचाँदी व्यवसायीहरू बताउँछन् ।
‘बजारमा सुनको माग बढदैछ । तर सुनचाँदी पसलमा भने सुनको अभाव देखिन थालेको छ’, गोदावरी नगरपालिका वडा नम्बर १ मञ्जीत आउजीले बताए । उनले भने, ‘नेपालले देशमा सुनको पूर्ति गर्न सकिरहेको छैन, जसका कारणले सुनको अभाव भइरहेको छ । हामीले पसलमा आएका ग्राहकलाई अहिले फर्काउनु परेको छ । जसले गर्दा ग्राहकमा निराशा छाएको देखिन्छ ।’
पछिल्लो समयमा तीजको चहलपहल बढ्दै गर्दा महिलाहरू निकै व्यस्त देखिने गरेका छन् । उनीहरू तीजको तयारीमा जुटी सकेका छन् । चौमालकी विमला जोशी यति बेला तीजको तयारीमा जुटिसकेको बताउँछिन् ।
‘तीजको तयारी गरिरहेका छौ, तर कोरोनाको बिगबिगी अझै हटेको छैन । विगतका वर्षहरूमा तीज मनाउन पाएनौ । यस वर्ष सावधानी अपनाएर तीज मनाउने तयारीमा छौ’, उनले भनिन । उनले वर्षको एक पटक आउने पर्वलाई आफ्नो क्षमता अनुसार मनाउन समेत आग्रह गरिन् ।
पछिल्लो समय तीजका नाममा विकृति समेत बढ्दै गएको छ । जसका कारण समाजमा नराम्रो असर परिरहेको छ । पहिलेको र अहिलेको तीजमा धेरै भिन्नता देखिएको अत्तरियाका नम्रता रावत बताउँछिन् । पहिले तीजमा टाढा टाढा बाट माइत आएका दिदीबहिनीहरु भेटघाट गरेर दुःख सुखका कुरा गरेर मनाउने चलन रहे पनि अहिले भने त्यो परम्परा लोप भइरहेको उनले बताइन् ।
‘हाम्रो जमानामा तीजमा सबै महिलाहरू मिलेर मनाउँथ्यौ, पुरुषहरू कोही आउँदैनथे, त्यो वेलामा टाढा टाढा बाट माइत आएका दिदीबहिनीहरु भेटघाट गरेर दुःख सुखका कुरा पनि आफै गाएर नाच्थ्यौँ, विरहका गीत गाउथ्यौँ’, उनले भनिन्,‘अहिलेको तीजलाई के तिज भन्ने उत्ताउला गीत बजाउछन् । महिला भन्दा पुरुषहरू बढी नाचगान गर्छन् । जुन संस्कारले तीज मनाउनु पर्थ्यो त्यसको उल्टो भइरहेको छ ।’ यस पटक सामाजिक सञ्जाल फेसबुक, टिकटकमा पनि त्यतिकै छाएको छ तीज ।
सबै महिलाहरूलाई मिलेर आफूसँग जेजस्तो छ त्यस्तैमा रमाएर र तिजमा संस्कृतिको नाममा विकृति नगरेर तीज मनाउन उनले पनि सवैमा आग्रह गरिन् । यस बर्ष कैलाली प्रशासनले पनि तीजमा भड्किलो रुपमा नमनाउन आग्रह गरेको छ । प्रशासनले धार्मिक सामाजिक तथा सांस्कृतिक पर्व मनाउने सम्बन्धमा सामाजिक व्यवहार सुधार ऐन र नियमावली २०३३ ले व्यवस्थित र नियमित गर्ने उल्लेख गर्दै प्रशासनले यस्तो आग्रह गरेको कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए । यदि उक्त ऐन विपरीत अनावश्यक तामझामका साथ कार्यक्रम गरिएको पाइएमा कानुन बमोजिम कारबाही उनले बताए । ‘हामीले तीजमा तामझामका साथ नपाउन भनेर आग्रह गरिसकेका छौँ । यदि तीजलाई बढी खर्चिलो र भड्किलो गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्छौ ।’ प्रशासनले बड्किलो रुपमा तीज नमाउन आग्रह गरे पनि टोल–टोलमा नाचगान भईरहेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.