धनगढी : रगतको चरम अभाव हुने धनगढीमा, बैतडी समाज कैलालीले रक्तान कार्यक्रमको आयोजना गरेको छ । आफ्नो वार्षिक कार्यक्रम अनुसार गरिएको रक्तादान कार्यक्रममा ८५ जनाले रक्तदान गरेका छन । समाजका अध्यक्ष मायाप्रकाश भट्टले ८५ जनाले रक्तदान गरेको जानकारी दिए । बैतडी समाजले हरेक वर्षमा दुई पटक रक्तदान र स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ ।
आफ्नो वार्षिक कार्यक्रम अनुसार समाजले शनिबार धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ मा रहेको पदमा नर्सिङ कलेजको प्रांगणमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । रक्तदान कार्यक्रमको धनगढी उपमहानरपालिकामा नगर प्रमुख गोपाल हमाल र समाजका अध्यक्ष मायाप्रकाश भट्टले संयुक्त रुपमा सुभारम्भ गरेका थिए ।
३१८ जनाको निशुल्क आँखा जाँच
१५५ जनाको निशुल्क स्वास्थ्य जाँच
७७ जनाको निशुल्क दन्त सेवा
बैतडी समाजले यसपाली सोही स्थानमा निशुल्क स्वास्थ्य शिविर, निशुल्क आँखा जाँच शिविर र निशुल्क दन्तसेवा शिविर पनि गरेका छ । धनगढी नेत्रालयको सहयोगमा गरिएको निशुल्क आँखा जाँच शिविरमा ३१८ जनाले सेवा लिएका छन । उनीहरुलाई निशुल्क चस्मा र औषधी वितरण गरिएको थियो ।
यस्तै सारथी अस्पताल प्रालीको सहयोगमा गरिएको निशुल्क स्वास्थ्य शिविरमा १५५ जनाले सेवा लिएका छन । त्यसमा फिजिसियन चिकित्सकद्वारा चेकजाँच, ब्लडसुगर जाँच र एक महिनासम्मको औषधी निशुल्क प्रदान गरिएको थियो ।
यस्तै समृद्धी डेन्टलको प्रायोजनमा चिकित्सक द्वय डाक्टर सन्तोष पाण्डे र डाक्टर बिमल थापाले दन्त सेवा दिएका थिए । त्यसमा ७७ जनाले दाँतको सेवा लिएका समाजका अध्यक्ष मायाप्रकाश भट्टले बताए । बैतडी समाजले यसअघि बैतडी जिल्लाको पाटनमा बृहत निशुल्क स्वास्थ्य शिविर पनि गरिसकेको छ ।