पुस्करनाथलाई फकाउँदै कांग्रेस नेताहरू

अत्तरिया : नेता पुष्करनाथ ओझा प्रति २०७४ को संसदीय निर्वाचनमा वेवास्ता गरेको काँग्रेसले यतिवेला भेटघाठ तिव्र पारेको छ । पूर्वराज्यमन्त्री पुस्करनाथ ओझाले नेपाली कांग्रेसबाटै प्रतिनिधि सभा चुनाव लड्ने इच्छा देखाएका छन् । तर क्षेत्र नम्बर ५ नछाड्ने उनको अडान छ ।

२०७४ को चुनावमा पनि ओझा दाबेदार थिए । तर पार्टी सभापति शेरबहादुर देउवाकी पत्नी आरजु उम्मेदवार बनिन् । आफूले टिकट नपाएपछि ओझाले सहयोग गरेनन् । एमालेका नारदुमनी रानासँग पराजित भएपछि कांग्रेसले आरजुलाई हराउन भूमिका खेलेको भन्दै ओझालाई पार्टीबाट निस्कासन गर्‍यो ।

कांग्रेसले कारबाही गरे पनि कैलालीको राजनीतिमा उनको व्यक्तिगत प्रभाव अझै कायमै छ । स्थानीय चुनाव २०७९ मा पनि कांग्रेसले ओझाको समर्थन खोजेको थियो । तर, स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई सघाएका उनले धनगढी आएका कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत भेट्न मानेनन् ।

सत्तारुढ गठबन्धनको समर्थनका बाबजुद कांग्रेस उम्मेदवार नृप वड पराजित भए, स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भए । ४ मंसिरको चुनावमा पनि ओझाको समर्थन नहुने हो भने कांग्रेसलाई कैलाली ५ मा सहज देखिंदैन । त्यसैले कैलालीका कांग्रेस सभापति नारायणदत्त भट्ट र धनगढीका पूर्वमेयर नृप वडलगायतका नेताहरूलाई भेट्न बुधबार बिहान ओझाको निवासमै पुगेका थिए ।

भेटमा ओझाले कैलाली(५ मा कांग्रेसबाट चुनाव लड्न चाहेको बताएका छन् । आरजुको दाबीतर्फ संकेत गर्दै उनले लोकतन्त्रमा प्रधानमन्त्री र प्रधानमन्त्री पत्नी एउटै चुनाव लड्ने प्रचलन नरहेको प्रतिक्रिया दिएका छन् । तर आरजुबारे कुनै टिप्पणी गरेनन् । उनले पार्टी सभापति शेरबहादुर देउवाले बोलाए जुनसुकै बेला पनि भेट्न तयार रहेको बताएको कांग्रेस सचिव सुनारले जानकारी दिए ।

ओझालाई भेट्न सभापति भट्टसहित केन्द्रीय सदस्य तथा धनगढीका पूर्वमेयर वड, प्रदेशको सामाजिक विकासराज्यमन्त्री टेकबहादुर रैका, प्रदेश कमिटीका कोषाध्यक्ष उत्तम कठायत, गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्ट, कांग्रेस कैलालीका सचिव नृपबहादुर सुनारलगायतका नेताहरू उनको घरमै पुगेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.