Agni Offset Press

बाढीपहिरोले दार्चुलामा ९१ परिवार प्रभावित

Aarati simant

दार्चुला : बाढी र पहिरोबाट दार्चुलाका महाकाली र नौगाडका ९१ परिवार प्रभावित बनेका छन्। जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार ४२ घरमा पूर्ण र नौ घरमा आंशिक क्षति पुगेको छ। ४० घर जोखिममा परेका छन्। महाकाली नगरपालिकाका वडा नम्बर १, २, ३ र ४ को बंगाबगडसम्मका घरमा बाढीले क्षति पुर्‍याएको छ।
बाढीपहिरोमा परेका पाँच जनाको शव भेटिएको थियो। १० जना बेपत्ता छन्। पहिरोमा ८ जना घाइते भएका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। पाँच जनाको उपचार भइरहेको छ। ३ जना डिस्चार्ज भएका छन्। नेपाली सेना, नेपाल प्रहरी, नेपाल रेडक्रस र सशस्त्र प्रहरीको टोलीले बेपत्ताको खोजी सुरु गरिसकेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए।

पीडितको उद्धारमा सहयोग गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्प्रसाद बडूसमेत लास्कु खोलामा ढुंगा बोक्ने र तार जाली हाल्ने काममा खटिएका छन्। उनी शनिबार नेपाली सेनाको हेलिकोप्टरमार्फत राहत लिएर सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीसँगै जिल्ला आएका थिए।
सेनाकै हेलिकोप्टरले दुवै स्थानीय तहका बाढी र पहिरो प्रभावितका लागि राहत सामग्री ढुवानी गरेको छ। स्थानीय सरकार र नेपाल रेडक्रस सोसाइटीसँगको समन्वयमा राहत वितरण गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावल र वनमन्त्री मानबहादुर धामी दार्चुला आएका छन्। उनीहरूले त्रिपाल, खाद्यान्न र कम्बलजस्ता राहत सामग्री ल्याएर बितरण गरेका छन्। जिल्ला विपद् व्यवस्थापन समितिको आइतबार बिहान बसेको बैठकले राहत वितरण गर्ने निर्णय गरेको थियो।

महाकाली नदी र लास्कु खोलाको बाढीले जिल्ला सदरमुकाम खलंगा हुँदै दुहुँ–व्याँस जोड्ने सडक अवरुद्ध भएको छ। दार्चुला–तिंकर सडकअन्तर्गत रिंगलतालदेखि कलौनभिरसम्म सडक अवरुद्ध भएको हो। दुहुँ गाउँपालिका र महाकाली नगरपालिका जोड्ने यो सडक बगाएपछि उक्त क्षेत्रका बासिन्दालाई आवतजावतमा समस्या भएको छ। लास्कु खोलामाथिको मोटरेबल र झोलुङे पुल नै बगाएको छ। महाकाली– ४ बंगाबगड हुँदै वडा नम्बर १ छापरी जाने पुल पनि बगाएको छ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.