अत्तरिया, २७ भदौ : सुदूरपश्चिमका बाल अधिकारका सवालमा धनगढीमा छलफल भएको छ । कन्सोर्टियम–नेपालको आयोजनामा भएको कार्यक्रममा प्रदेशका दार्चुला वाहेकका ८ जिल्लाका बालबालिकाहरुको सहभागितामा सोमबार छलफल सम्पन्न भएको हो । छलफलमा सुदूरपश्चिम प्रदेशका सवालमा ७ बुँदे घोषणापत्र जारी गर्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकालाई ज्ञापनपत्र बुझाएको छ ।
छलफलले बालबालिकाको क्षेत्रमा कानुनी, नीति, रणनीति कार्यक्रम बढाउने, बालकल्याण अधिकारीको व्यवस्था, बालकोषको व्यवस्था कार्यान्वयन बालमनोविज्ञान तथा सामाजिक कार्यकर्ता सम्बन्धित व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न सहजीकरण गर्ने लगाउने रहेका छन् ।
यस्तै, गरी बाल विवाह लगायत समाजमाव्याप्त सबै कुरितिका लागि काम गर्ने, सबै ठाउँमा बालबालिकाहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित बाल सहभागिता सम्बन्धि कार्यविधि निर्माण गर्ने, स्थानीय तहमा योजना प्रक्रियामा बालबालिका लागि कम्तिमा १० प्रतिशत बजेट विनियोजनका लागि आवश्यक सहजीकरण गर्ने, बालमैत्री स्थानीय शासनको अवलम्बन, सुचकको प्रभावकारी कार्यान्वयन गर्ने र प्राकृतिक प्रकोप, जलवायु परिर्वतनमा बालबालिकामा पर्ने असर बारेमा आवश्यक जनचेतनामुलक कार्याक्रमको आयोजना गर्ने रहेका छन् ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक राज्यमन्त्री टेकबहादुुर रैकाले प्रदेश सरकार बालबालिकाहरुको अधिकारमा गम्भिर रहेको बताए । उनले ज्ञापनपत्रमा उल्लेख बुँदामा प्रदेश सरकार कार्यन्वयमा प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा कन्सोर्टियम–नेपालका उपाध्यक्ष सन्तोष महर्जनले बालबालिकाहरुका क्षेत्रमा आफुहरु दुई दशक देखि काम गर्दै आएको बताउँदै अझ पनि गम्भिर रुपमा लागेको बताए । । यस्तै, नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले बालबालिकाहरुको सवालमा आफ्नो तर्फबाट जहिले पनि सहयोग रहेको बताए । उनले पत्ररिताका माध्यामबाट बालबालिकाहरुका मुद्धाहरु उठान गर्दै आएको समेत बताए ।
यस्तै कार्यक्रममा वल्र्ड भिजन इन्टरनेशनल नेपालका सुदूरपश्चिम फिल्ड म्यानेजर चेतराज भट्टराईले बालबालिका सवालमा तीन वटै सरकारले गम्भीर रुपमा लिनपर्ने बताए । ‘पछिल्लो समय बालिकाहरु असुरक्षित भएको छन्’, उनले भने । ‘सरकारले गम्भिर बन्न आवश्यक छ ।’ कार्यक्रममा सुदूरपश्चिम प्रदेशका ८ जिल्लाका बालबालिका तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम बाल सल्लाहकार समितिका सदस्य खगेश्वरी ऐडीको अध्यक्षतमा सम्पन्न भएको हो ।
कार्यक्रमको बाल अधिकार अभियन्ता किरण थापाले सहजीकरण गरेका थिए । यसअघि सोमबार विहान भएको उद्घाटन कार्यक्रममा कन्सोर्टियम–नेपालका उपाध्यक्ष सन्तोष महर्जनले कार्यक्रम औचत्य बारे प्रकाश पारेका थिए भने वल्र्ड भिजनका केन्द्रीय प्रतिनिधि श्याम अधिकारीले सहभागीलाई स्वागत गरेका थिए ।