काठमाण्डौँ, २८ भदौ : नेपाली कांग्रेस जिल्ला अनुशासन समिति बाराले पार्टीका सहमहामन्त्री एवम् खानेपानी मन्त्री उमाकान्त चौधरीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको छ ।
समितिले बारा क्षेत्र नं. १ का सांसदसमेत रहेका मन्त्री चौधरीलाई स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेको आरोप लगाउँदै निलम्बन गरेको हो । समितिले चौधरीसहित पूर्वसांसद एवम् महाधिवेशन प्रतिनिधि राधेचन्द्र यादव र क्षेत्र नं. २ का क्षेत्रीय सभापति रामप्रवेश प्रसाद यादवलाई समेत निलम्बन गरेको छ । अनुशासन समितिका संयोजक अरुणकुमार यादवले निलम्बन गरेका हुन्। उनीहरूमाथि स्थानीय तह निर्वाचनमा पार्टीको उम्मेदवार हराउन लागेको आरोप लगाइएको छ । तीनै जनालाई निलम्बल गरेको पत्र केन्द्रीय अनुशासन समितिमा पठाएको यादवले जानकारी दिएका छन् । पार्टी विरोधी गतिविधिमा लागेका कारण कारवाही गरिएको यादवले बताए । लामो समयदेखि दुई गुटमा विभाजित कांग्रेसभित्रको विवाद यतिबेला छताछुल्ल भएको छ ।
केन्द्रीय सभापति शेरबहादुर देउवा निकट रहेका सहमहामन्त्री फरमुल्लाह मंसुर र मन्त्री चौधरी कृष्णप्रसाद सिटौलाको छुट्टाछुट्टै गुट छ । केन्द्रीय तहमा देउवा र सिटौमा एकै समूहमा रहेपनि जिल्लामा भने दुई गुटबीच चरम विवाद देखिन्छ ।
यसअघि मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दुवै गुटले छुट्टाछुट्टै उम्मेदवार सिफारिस गरेका थिए । दुवै पक्षले आफूले गरेको सिफारिसलाई आधिकारिक रहेको दावी गर्दै आएको थियो । यसअघि मंसुर निकट रही बारा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा र १ (क) बाट प्रदेशसभा निर्वाचनका लागि सिफारिस भएका महाधिवेशन प्रतिनिधि शम्भुबहादुर बुढाथोकीलाई निलम्बन गरेको पत्र सोमबार बाहिरिएको थियो ।