Agni Offset Press

डाक्टर केसीको सत्याग्रहको पाँचौं दिन : स्वास्थ्य थप अवस्था जटिल बन्दै

Aarati simant

धनगढी, ३१ भदौ : सत्याग्रही डाक्टर गोविन्द केसीको स्वास्थ्यमा थप समस्या देखा परेको छ । धनगढीमा जारी सत्याग्रहको शुक्रबार पाँच दिन पुग्दा सेती प्रादेशिक अस्पतालले डाक्टर केसीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै अवस्था जटिल भएको जनाएको हो ।
२० औं सत्याग्रह गर्न धनगढी आएका डाक्टर केसीले सोमबारदेखि सत्याग्रह थालेका हुन । सेती प्रादेशिक अस्पतालमा रहेका केसीको टाउको दुख्ने, रिङटा लाग्ने, स्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, मांसपेशी दुख्ने, बाउडीने र मुटुको धडकनमा गडबढी हुने समस्या देखा परेको जनाएको छ । अस्पतालका अनुसार डाक्टर केसीको रक्तचाप घटेर ९० र ६० हाराहारीमा पुगेको, श्वासप्रश्वास दर बढ्दै गएको र शरीरको तौल घट्दै गएको छ ।
प्रयोगशाला रिपोर्टमा सुगरको मात्रा ४१ पुगेको क्याल्सियम, फस्पोरस, म्याग्नेसियम कम र पिसाबमा किटोनबडी बढ्दै गएको देखिएको अस्पतालले जनाएको छ । डाक्टर केसीलाई शुद्ध पानी, नर्मल स्लाइन, रिङ्गर ल्याक्टेट मात्र प्रदान गरिएको र चिकित्सक टोलीबाट नियमित स्वास्थ्य परीक्षण भइरहेको अस्पतालले जनाएको छ ।
स्वास्थ्य क्षेत्रको सुधारका लागि धनगढीमा २० औं सत्याग्रहमा बसेका डाक्टर केसीसँग वार्ता गर्न सरकारले कुनै औपचारिक प्रक्रिया थालेको छैन । लामो समयसम्म सरकारले वार्ता गर्न उदासिन भए डाक्टर केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिने चिन्ता गरिएको छ । अस्पतालले भेटघाटमा पनि रोक लगाएको छ । डाक्टर केसीले आफू तीन करोड नेपाली जनताका लागि अनशन बसेकाले स्वास्थ्य अवस्था तलमाथि हुँदैमा फरक नपर्ने भन्दै औषधी लिन मानिरहेका छैनन् ।

Goda1
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.