धनगढी : धनगढी उप महानगरपालिका क्षेत्रमा आज (असोज १ गते) देखि प्लास्टिकजन्य वस्तु (सुर्तिजन्य पदार्थ, गुट्का ) बिक्री वितरणमा रोक लागेको छ । धनगढीलाई स्वच्छ नगर बनाउने क्रममा धनगढी उपमहानगरपालिकाले प्लास्टिक, सुर्तिजन्य पदार्थ, गुट्का बिक्री वितरणमा रोक लगाएको हो ।
हाम्रो धनगढी हामी बनाउँछौ भन्ने अभियानका क्रममा धनगढी उपमहानगरपालिकाले धनगढीलाई प्लास्टिक, सुर्तिजन्य पदार्थ, गुट्का विहीन नगर बनाउने लक्ष्य राखेको छ । ‘चालु बर्षलाई हामीले ‘सरसफाई बर्ष’ का रुपमा मनाउने निर्णय गरेका छौं’ धनगढी उप महानगरपालिकाका मेयर गोपाल हमालले भने, ‘प्लास्टिक र सुर्तीजन्य पदार्थ सो अभियानका बाधक देखिएकाले असोज १ गतेदेखि बिक्री वितरण गर्न निषेध गर्ने निर्णय गरेका हौं ।’
असोज १ गतेदेखि स्च्छता अभियान लागु भए पनि पुर्ण कार्यान्वयन भने कार्तिक १ देखि गरिने छ । मेयर हमालले पहिलो चरणमा प्लास्टिक प्रयोग नगर्न सूचना जारी गर्ने, माइकिङ गर्ने र को संग कति प्लास्टिक छ भन्ने तथ्याङ्क संकलन गरिने बताए । ‘दशैसम्म हामी सूचना जारी गर्दै निर्णयका बारेमा सवैलाई जानकारी गराउँछौं’ मेयर हमालले भने, ‘कात्तिक १ गतेदेखि भने यसलाई कडाईका साथ लागु गरिने छ ।’
प्लास्टिक फोहोर मात्र नभई क्यान्सरको कारक रहेको बताउँदै मेयर हमालले त्यसलाई निषेध गर्नु अपरिहार्य रहेको बताए । ‘प्लास्टिक लगेर सवैले जलाउने गर्दछन्’ मेयर हमालले भने, ‘त्यसको धुवा स्वास्थ्यका लागि निकै हानिकारक हुदो रहेछ, नागरिकको स्वास्थ्य सुरक्षाका लागि पनि यसलाई निषेध गर्नु अति आवश्यक छ ।’ उनले प्लास्टिकको विकल्प उपभोक्ता र व्यवसायीले खोज्नु पर्ने बताए । बजारमा प्लास्टिकका विकल्प धेरै छन्’ मेयर हमाल भन्छन्, ‘तर हाम्रो बानी नपरेका कारण समस्या भएको हो, अब प्लास्टिकको सट्टा अन्य सामान प्रयोग गर्ने बानीको विकास गर्नु पर्दछ, विकल्पका बारेमा धेरै सोच्नु आवश्यक देखिदैन ।’
भदौ १ गते बसेको नगर कार्यपालिकाको बैठकले असोज १ गतेदेखि प्लास्टिक निषेध गर्ने निर्णय गर्दै ती वस्तु बिक्री वितरण गरेमा पहिलो पटक एक हजार, दोश्रो पटक तीन हजार र तेश्रो पटक ५ हजार जरिवाना तिराउने निर्णय गरेको छ । गत बैशाखमा नगरप्रमुखमा निर्वाचित भएपछि हमालले हाम्रो धनगढी हामी बनाउँछौं अभियान सँचालन गरिरहेका छन् ।