डा. गोविन्द केसीको सत्याग्रहमा नागरिक समाजको साथ

धनगढी : चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै धनगढीमा अनसनरत डा. गोविन्द केसीको सत्याग्रहमा धनगढीका नागरिक समाजले ऐक्यवद्धता जनाएको छ।

२०औं पटक सत्याग्रह गरिरहेका डा. केसीको जीवन रक्षा र उनले उठाएको माग सम्बोधनका लागि दबाब दिन समाजले धनगढीमा प्रदर्शन गर्दै ऐक्यवद्धता जनाएको हो। प्रदर्शनमा शिक्षाविद डा. हेमराज पन्तलगायत विभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो। सत्याग्रहको सातौं दिन पुग्दा डा। केसीको अवस्था थप जटिल बन्दै गएकाले उनको जीवन रक्षा गर्न नागरिक समाजले माग गरेको छ। ‘जनताको स्वास्थ्यमाथि खेलवाड कहिलेसम्म सरकार ?, सरकार यी गोविन्द केसीको माग होइनन् हाम्रा माग हुन्’ भन्दै उनीहरुले पार्कमोडमा मौन प्रदर्शन गरेका थिए। केसीका मागहरु सम्बोधन नभए सशक्त आन्दोलन गरिने बताइएको छ।

डाक्टर केसीले गत सोमबारदेखि ७ बुँदे माग राखेर धनगढीमा अनशन थालेका थिए। डा. केसीले स्वास्थ्य सेवामा सुधारका लागि तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका सबै सरकारी अस्पतालहरुको तत्कालको दरबन्दी हालको बेड संख्या अनुसार बढाइनु पर्ने माग गरेका छन्। जनसंख्या वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गर्नु पर्ने उनको माग छ।

संविधानले सबैका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरेकाले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण, एक्सरे लगायत आधारभूत सेवाका लागि शुल्क लिन निषेध गरिनु पर्ने, सरकारले तोकेको सूची अनुसारको सबै औषधिहरु आवश्यक मात्रामा सबै स्वास्थ्य संस्थामा भएको सुनिश्चित गर्नुपर्ने लगायतका केसीका मागहरु छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.